बेइजिङ । व्यापारदेखि युक्रेन द्वन्द्वसम्मका विभिन्न विवादलाई सुल्झाउने प्रयास गरिरहेका चीन र युरोपेली संघ (ईयू)का शीर्ष नेताहरूले यस साता बेइजिङमा शिखर सम्मेलन गर्ने भएका छन् । बेइजिङ र ब्रसेल्सले आफ्नो कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वार्षिकोत्सव मनाउन तयारी गरिरहेका छन्, तर राज्य अनुदान, बजारमा पहुँच र युद्धकालीन प्रतिबन्धहरूमाथि भएको झगडाले वार्षिकोत्सवलाई कमजोर बनाएको छ ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले सोमबार युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टा र युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले बिहीबार भ्रमण गर्ने पुष्टि गरेका छन् । बुधबार जापानमा छुट्टै बैठकको समापनपछि कोस्टा र भोन डेर लेयनले बेइजिङमा हुने इयु–चीन शिखर सम्मेलनमा भाग लिने इयुले शुक्रबार बताएपछि यो बयान आएको हो ।
कोस्टा र भोन डेर लेयनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट गर्नुहुनेछ । सीसँग उहाँहरूले इयु–चीन सम्बन्ध र युक्रेनमा रुसको युद्ध लगायत वर्तमान भू–राजनीतिक चुनौतीहरूबारे छलफल गर्ने ईयूको विज्ञप्तिमा उल्लेख छ ।
ब्लकका अनुसार चिनियाँ प्रधानमन्त्री ली कियाङसँग उनीहरुले सम्बन्धको व्यापारिक र आर्थिक पक्षहरूलाई विस्तृतरूपमा समेट्नेछन् । ‘यो शिखर सम्मेलन चीनसँग उच्च स्तरमा संलग्न हुने र हामी दुवैका लागि महत्वपूर्ण मुद्दाहरूमा स्पष्ट, रचनात्मक छलफल गर्ने अवसर हो’, कोस्टाले भने, ‘हामी संवाद, वास्तविक संलग्नता र ठोस प्रगति चाहन्छौँ । हामी दुवै पक्षका लागि निष्पक्ष, सन्तुलित सम्बन्धको लक्ष्य राख्छौँ ।’
व्यापारिक तनावले बैठकको तयारीमा छाया पारेको छ । ब्लुमबर्ग न्युजले यस महिना चीनले मूलतः दुई दिने शिखर सम्मेलनको एक भाग रद्द गर्ने रिपोर्ट गरेको छ । दुवै पक्षले निष्पक्ष व्यापारको सिद्धान्तको उल्लंघनका रूपमा देखेका कुराहरूका लागि एक–अर्काको आलोचना गरेका छन् ।
भोन डेर लेयनले यस महिना ईयूले बेइजिङसँगको आफ्नो व्यापक व्यापार घाटालाई सम्बोधन गर्न खोजेको बताए । यो व्यापार घाटा गत वर्ष तीन खर्ब ५७ अर्ब डलर थियो । उनले ब्रसेल्सले पनि चीनसँग युरोपेली कम्पनीहरूका लागि बजार पहुँच सजिलो बनाउन र रणनीतिकरूपमा महत्वपूर्ण दुर्लभ खनिज तत्वहरूमा निर्यात नियन्त्रणहरू खुकुलो बनाउन माग गर्ने बताए । आफ्नो तर्फबाट बेइजिङले ईयूले आफ्नो मानसिकता परिवर्तन गर्नुपर्ने र ‘मतभेद र घर्षणहरूलाई उचितरूपमा सम्हाल्नुपर्छ’ भनेको छ ।