काठमाडौं । शेयर बजार परिसुचक नेप्से उच्च अंकले बढेर नयाँ रेकर्ड कायम गर्न सफल भएको छ । अघिल्लो दिन २१ अंकले उकालो लागेको नेप्से परिसुचक साताको तेस्रो कारोबार दिन आज मंगलबार ८० दशमलव ९७ अंकले उकालो लागेर २९ सय ७३ दशमलव ७० बिन्दुमा चढेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि १४ दशमलव ४८ अंकले उकालो लागेर पाँच सय १६ दशमलव ९८ बिन्दुमा चढेको छ ।
धितोपत्र बजारमा आज तीन सय १९ वटा कम्पनीहरुको एक लाख ७७ हजार एक सय एक पटकको कारोबारमा चार करोड ३५ लाख ८१ हजार दुई सय २८ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम २० अर्ब आठ करोड ५३ लाख ६७ हजार दुई सय ९३ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका १३ वटै उपसमुहहरुको सुचक उकालो लागेर शेयर बजार पुरै हरियो भएको छ ।