काठमाडौं , नेपाली कांग्रेसभित्र आगामी १५औँ महाधिवेशन लक्षित गरी नेतृत्वको प्रतिस्पर्धा चर्किन थालेको छ। पार्टी सभापति शेरबहादुर देउवाको उत्तराधिकारी तय गर्नुपर्ने मागसहित संस्थापन पक्षभित्रकै ‘सात भाइ’ नेताहरूले सक्रिय कूटनीति थालेका छन्।सोमबार उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा बसेको भेलाले देउवाको उत्तराधिकारी पार्टीभित्रैबाट तय हुनुपर्ने निष्कर्ष निकालेपछि मंगलबार ती नेताहरू बुढानीलकण्ठ पुगेर सभापति देउवासँग भेट गरेका हुन्।
भेटमा सिंहसहित गोपालमान श्रेष्ठ, कृष्णप्रसाद सिटौला, विजयकुमार गच्छदार, र प्रकाशरण महत सहभागी थिए। यद्यपि हिजो भेलामा सहभागी विमलेन्द्र निधि र शशांक कोइराला भने देउवासँगको भेटमा अनुपस्थित रहे।नेता गोपालमान श्रेष्ठका अनुसार भेटमा देउवालाई "आफूहरूलाई अन्याय नगरियोस्" भन्ने आग्रह गरिएको थियो। उनले भने, “विजय गच्छदारले पुराना प्रसंग स्मरण गराउँदै पार्टीको कठिन समयमा साथ दिएको सम्झना गराउनुभयो। १५औँ महाधिवेशनमा कसैलाई ग्रीन सिग्नल दिएको हो कि? भन्ने प्रश्नसमेत उठायौँ। तर सभापतिले त्यसो नभएको स्पष्ट पार्नुभयो।”
श्रेष्ठले १४औँ महाधिवेशनमा देउवाले "अहिले मलाई सहयोग गर, १५औँ मा म तिमीलाई सहयोग गर्छु" भनेको स्मरण पनि गराएका थिए। “त्यति बेला भाउजू (आरजु राणा देउवा) पनि सँगै हुनुहुन्थ्यो,” उनले भने।भेलामा सहभागी नेताहरूले इतर पक्षका नेता डा. शेखर कोइरालाको गतिविधिलाई खास महत्व नदिएको पनि श्रेष्ठको भनाइ थियो। “उहाँले सफल हुने काम गरिरहनुभएको छैन, उहाँका मान्छेहरूले मर्यादित ढंगले बोल्नुपर्ने हो,” उनले टिप्पणी गरे।
१५औँ महाधिवेशन कहिले हुने भन्ने अझै स्पष्ट छैन। तर सभापति देउवालाई विधानले पुनः उम्मेदवार बन्न नदिने भएपछि संस्थापन पक्षभित्रै उत्तराधिकारी चयनको दबाब तीव्र बन्दै गएको छ।यसअघि पनि यी सातसहित ११ नेताहरूले बुढानीलकण्ठ पुगी देउवालाई उत्तराधिकारी तोक्न दबाब दिएका थिए, तर देउवाले अझैसम्म औपचारिक रूपमा कसैको पक्षमा संकेत दिएका छैनन्। इतर पक्षबाट भने डा. शेखर कोइराला र महामन्त्री गगन थापाले नेतृत्वको तयारी अघि बढाइसकेका छन्। कांग्रेसभित्रको शक्ति संघर्षको यो नयाँ चरण महाधिवेशनको समीकरणलाई निर्णायक रूपमा प्रभावित गर्ने संकेत देखिएको छ।