काठमाडौं । साउदी अरब पुगेका नेपाली कामदारहरू रोजगारदाता कम्पनीले आवासीय अनुमति–पत्र (अकामा) नवीकरण नगर्दा अलपत्र पर्ने गरेका छन् ।
आकर्षक रोजगारीको प्रलोभनमा परी यहाँबाट साउदी पुगेका नेपालीहरू अलपत्र पर्ने क्रम पछिल्लो समय बढेको छ । त्यहाँ अलपत्र परेका केही नेपालीहरूलाई नेपाली राजदूतावासको सहयोगमा नेपाल फिर्ता ल्याउने काम पनि भएको छ । विगत दुई वर्षदेखि अकामा समस्याले गर्दा नेपाल फर्किन समेत नसकेका तनहुँका सुजन थापा, बाग्लुङका सन्देश बिक, सिन्धुपाल्चोकका उद्धव राउत, जाजरकोटका रामबहादुर बस्नेत, पर्वतका ईश्वर बिक र धादिङ अयुब तामाङलाई हालै नेपाली दूतावासले नेपाल फिर्ता ल्याएको छ ।
उनीहरू अलपत्र परेको जानकारी पाएपछि नेपाली दूतावास रियादका अलकसिम प्रतिनिधि विशाल कुमार श्रेष्ठ र अनुवादक अली हुसैन मियाले नेपाल फर्काउन सहयोग गरेका थिए । कामविहीन भएर घर फर्किनुपर्ने अवस्था भएपछि रोजगारदाता कम्पनीले अकामा नवीकरण नगर्दा उनीहरू गैरकानुनी बन्न पुगेका थिए । अकामा समस्याले नेपाल फर्किन नसकेको अवस्थामा रियादस्थित नेपाली दूतावासमार्फत अलकासिम प्रतिनिधि श्रेष्ठको सम्पर्कमा पुगेर लेवरकोर्ट गएर आवश्यक कागजात दिएपछि (बहिर्गमन) एक्जिट भिसा प्राप्त गरी नेपाल फर्काइएको गैर–आवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति अलकासिम साउदीले जनाएको छ ।
यस्तै, खोटाङका दिपक नेपाली पनि दुई वर्ष छ महिना साउदी पुगेर अलपत्र परेका थिए । नेपालबाट स्काई ब्लु मेनपावरमार्फत साउदी पुगेर बिरेक कफी सपमा काम गर्दा गर्दै कम्पनी बन्द भएको कारण उनलाई कम्पनीले अलपत्र पारेको थियो । उनी पनि एक्जिट भिसा प्राप्त गरी गैर–आवासीय नेपाल संघ क्षेत्रीय समन्वय समिति अल्कासिमको सहयोगमा नेपाल फर्किन सफल भएका छन् । साउदी अरबका कम्पनीहरूले साउदी आवासीय अनुमतिपत्र (अकामा) नबनाइदिने तथा नवीकरण नगरेका कारण त्यहाँ धेरै नेपाली कामदार गैरकानुनीरूपमा काम गर्न बाध्य छन् । अहिले कम्पनीहरूले अकामा नबनाइदिने प्रवृत्ति बढ्दै गएको एनआरएनए साउदीले जनाएको छ । यसले गर्दा विदेशमा श्रम गर्न आएका नेपालीलाई बाहिर हिँडडुल गर्न समस्या भएको छ ।
आफूले कमाएको धेरथोर पैसा घर परिवारलाई पठाउन बञ्चित हुनुपर्ने, प्रहरीले पक्राउ गरी जरिवाना गराउनेलगायत धेरै समस्याबाट नेपाली कामदार पीडित हुने गरेका छन् । साथै, यस्ता घटनाहरूलाई कम गर्न दूतावास रियादले साउदी अरबमा कार्यरत रहेका नेपालीलाई कम्पनीले दिने सुविधाबाट बञ्चित गरेमा तुरुन्त श्रमिक अदालतमा उजुरी गरी कानुनी बाटो खोजी गर्न आग्रह गर्दै आएको छ । यस्तै, कम्पनी राम्रो नभएर अर्को कम्पनीमा जाँदा पुरानो कम्पनीले विभिन्न सामान चोरी गरेर भाग्यो भनेर अनावश्यक जरिवाना लगाउने तथा फर्जी कागजात बनाएर कामदारलाई मुद्दा लगाउने गरेका कारण पनि सयौँ नेपाली स्वदेश फर्किन सकेका छैनन् ।