काठमाडौं । सहरी विकास मन्त्रालयले गत आर्थिक वर्ष २०८१/८२ मा बजेटमा उल्लेखित कार्यक्रम कार्यान्वयनमा वित्तीयतर्फ करिब ५९ प्रतिशत प्रगति हासिल गरेको छ ।
मन्त्रालयद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता नारायणप्रसाद मैनालीले मन्त्रालयले गत वर्ष ५८ दशमलव छ प्रतिशत प्रगति हासिल गरेको जानकारी दिए । उनका अनुसार गत आवमा मन्त्रालयलाई ६८ अर्ब १४ करोड ३६ लाख ६८ हजार एक सय २३ रुपैयाँ बजेट विनियोजित भएकोमा ३९ अर्ब ५६ करोड ५२ लाख ७० हजार रुपैयाँ खर्च भएको छ । सो अवधिमा ९७ वटा स्वास्थ्य भवन, पाँच वटा सभाहल, २१ सरकारी कार्यालय, ५५ स्थानीय तहको प्रशासकीय भवन, ९७ विद्यालय भवन, ३२ पार्क, १३ बसपार्क, ५७ सार्वजनिक भवन, दुई दशमलव नौ किमी तटबन्ध, २२ वटा स्थानीय सडक पुल, दुई सय ९६ किमी नाला, २७८ वटा झोलुङ्गे पुलको निर्माण सम्पन्न भएका छन् ।
त्यसैगरी दुई सय ७८ किमि ग्रामीण सडक कालोपत्रे र ढलान गरिएको छ भने ६१८ किमि सहरी सडक कालोपत्रे गरिएको छ । यस्तै, गत वर्षमा सडक सञ्जाल नपुगेका थप नौ वटा गाउँपालिका तथा नगरपालिका केन्द्रमा सडक पु¥याइएको छ । प्रवक्ता मैनालीका अनुसार पहुँच सुधारका लागि रणनीतिकरूपमा महत्वपूर्ण रहेको नेपालको सबैभन्दा लामो त्रिवेणी सुस्ता बहुत्तरी झोलुङ्गे पुल सञ्चालनमा आएको छ । यस्तै, एक वर्षमा अन्तर्राष्ट्रियस्तरको त्रिवि क्रिकेट स्टेडियमअन्तर्गत प्यारापिट र फ्लडलाइट निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । साथै, चार हजार सात सय ४७ हेक्टरमा सिँचाइ सुविधा विस्तार भएको जानकारी दिइएको छ । हालसम्म ११ हजार वटा सुरक्षित नागरिक आवास निर्माण भइसकेको पनि बताइएको छ ।
शवदाह निर्माणअन्तर्गत यस आवमा एक वटा शवदाहको निर्माण कार्य सम्पन्न भएको छ भने थप तीन वटाको निर्माण भइरहेको तथा धरहरा परिसरमा निर्मित धरहरा, बेसमेन्ट पार्किङ, बगैँचा सर्वसाधारणको लागि खुला गरिएको मन्त्रालयले जनाएको छ । जाजरकोट र रूकुमपूर्वको भूकम्पबाट क्षतिग्रस्त सरकारी भवन तथा स्वास्थ्य संस्थाका भवन पुनर्निर्माण कार्यअन्तर्गत २३ वटा भवनको ठेक्का प्रक्रिया प्रारम्भ भएकोमा १७ वटा भवनको ठेक्का सम्झौता समेत सम्पन्न भई निर्माण कार्य भइरहेको पनि मन्त्रालयले जनाएको छ । त्यसैगरी, चितवन सौराहा सभाहल सञ्चालन भएको तथा दमक व्यापारिक कम्प्लेक्स सर्वसाधारणका लागि खुला गरिएको छ ।