काठमाडौं । नेपाल राष्ट्र बैंकको १९औँ गभर्नरको रुपमा डा. विश्वनाथ पौडेल नियुुक्त भएपछि नेपालको सेयरबजारले उकालो चढ्न सुरु गरेको छ । अघिल्लो गभर्नर महाप्रसाद अधिकारीको कार्यकालमा धेरैजसो समय सेयरबजार ओरालो लागेको थियो । त्यही कारण पनि अधिकारीलाई सेयरबजारले नपत्याएको गभर्नरको रुपमा चित्रित गरियो । अहिले गभर्नर फेरिएका छन् । सेयरबजारले उकालो यात्रा सुरु गरेको छ । नेप्से सूचकसँगै कारोबार रकमले पनि नयाँ नयाँ रेकर्ड कायम गरेको छ ।
राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमा सेयर धितो अर्थात् मार्जिन लोनसम्बन्धी व्यवस्थालाई परिमार्जन गर्दै १५ करोडको कर्जा सीमालाई बढाएर २५ करोड रुपैयाँँ कायम गरेको छ । योसँगै बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाहलगायतका धेरै विषयहरूमा गरिएको सहजीकरणका कारण नेपालको सेयरबजार अहिले उकालो लागि रहेको छ । सेयरबजारको यही उकालो र ओरालो यात्राको बीचमा धेरै प्रश्नचिह्नहरू खडा भएका छन् । के एउटा नियमनकारी निकायको प्रमुख परिवर्तन हुँदैमा सेयरबजारमा किन यति धेरै उतारचढावहरू आउँछन् । के यी उतारचढावहरू न्यायसंगत र नीतिसंगत छन् ? गम्भीररुपमा सोच्नुपर्ने बेला आएको छ । हचुवा र हल्लाको भरमा घटबढ हुने नेपालको सेयरबजारलाई सामान्यरुपमा हेर्दा पनि धेरै व्यक्ति सेयर कारोबार गरेकै आधारमा करोडपति बनेका छन् भने सेयरबजारको बारेमा कसैले भनेको सुनेको आधारमा बजारमा प्रवेश गर्नेहरू सडकमा आएका छन् ? के सेयरबजारको नियमनकारी निकायको काम सेयरबजारमा गलत गर्नेहरूलाई करोडपति बनाउने मात्र हो र सबैले सोच्नुपर्ने बेला आएको छ ।
नेपालको सेयरबजारमा पछिल्ला केही वर्षमा निकै उतारचढावहरू आएका छन् । कहिले नेप्से उच्चरुपमा बढ्छ भने कहिले उच्चरुपमा घट्छ । यो अस्थिरता साना तथा खुद्रा लगानीकर्ताहरूका लागि चिन्ताको विषय बनेको छ । आखिर सेयरबजारमा यस्तो अनिश्चितता किन देखिन्छ ? यसको पछाडि थुप्रै कारणहरू रहेका छन् । नीति निर्माणमा अस्थिरता, सूचनाको अभाव, नियमनकारी निकायको कमजोरी, तथा समग्र आर्थिक अवस्थाका कारणले गर्दा नेपाली पुँजीबजार अस्थिर बन्दै गएको छ ।
नेपालमा दशकौँदेखि देखिँदै आएको राजनीतिक अस्थिरताले सेयरबजारमा प्रत्यक्षरुपमा प्रभाव पारिरहेको छ । सरकार परिवर्तन भइरहने, अर्थमन्त्रीहरूको आ–आफ्नै प्राथमिकता हुने, नीति निर्माणको स्थायित्व नहुनुजस्ता कारणले लगानीकर्ताहरूमा अन्योल उत्पन्न हुँदै आएको छ । नीति स्थिर नभएसम्म लगानीकर्ता दीर्घकालीन लगानी गर्न हिच्किचाउँछन् । उदाहरणका लागि, सेयर लाभकरको दर र पुँजीगत लाभमा लगाइने करको विषयमा बारम्बार परिवर्तन भइरहेको छ । यसले पनि सेयरबजारमा निकै नै उतारचढाव ल्याइरहेको छ ।
नेपालको सेयरबजारमा सूचनाको पारदर्शिता एक गम्भीर समस्याको रुपमा रहेको छ । सूचीकृत कम्पनीहरूले समयमै वित्तीय विवरण नदिने वा अपारदर्शी ढंगले विवरण दिने प्रवृत्तिले लगानीकर्ताले सही निर्णय लिन सक्दैनन् र सकेका पनि छैनन् । सूचनाको अभावमा हल्लाले बजार सञ्चालन गर्छ, जसले गर्दा बजार अस्थिर हुन्छ । उदाहरणका लागि कुनै कम्पनीको लाभांश घोषणा हुनुअघि नै बजारमा हल्ला फैलिन्छ, जसले सेयरमूल्य कृत्रिमरूपमा माथि जान्छ अनि लाभांश अपेक्षाअनुसार नआएपछि ती मूल्यहरू तुरुन्तै खस्किन्छन् । हल्लाको पछि लाग्ने साना तथा मझौला लगानीकर्ताहरूको समग्रमा ठूलो लगानी डुब्छ । कमाउनेमा तिनै टाठाबाठा र चलखेल गर्ने ठूला लगानीकर्ताहरू पर्छन् ।
सेयरबजार अस्थिर हुनुमा नियमनकारी निकाय नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जको पनि निकै ठूलो भूमिका रहेको छ । यी निकायहरूको कार्यगत क्षमता, स्रोतसाधन र निर्णय लिने क्षमताको कमीले पनि सेयरबजार अस्थिर बनेको छ । सेयरबजारमा देखिने अनियमितता, भित्री कारोबार अर्थात् इनसाइडर ट्रेडिङ, सट्टेबाजहरूको प्रभावजस्ता समस्यामा नियन्त्रणको अभावले बजारमा अस्थिरता निम्ताएको छ ।
अहिले पनि नेपालको सेयरबजारमा लगानी गर्ने निकै ठूलो जमात खुद्रा र साना लगानीकर्ताहरू रहेका छन् । यो लगानीकर्ताहरूको मुख्य उद्देश्य नै छोटो अर्थात् अल्पकालीन अवधिमा नाफा कमाउनु र सेयरबजारबाट बाहिर निस्कनु रहेको छ । यसरी बाहिरिने र भित्रिने क्रमले गर्दा पनि सेयरबजारमा अस्थिता छाएको छ । दीर्घकलीन अवधिको लगानीभन्दा अल्पकालीन अवधिमा नै मुनाफा कमाउने सोचले पनि बजारलाई अस्थिर बनाएको छ । सेयरबजारमा आउने यस्तो कृत्रिम उतारचढावले दीर्घकालीन लगानीकर्ता प्रभावित हुन्छन् र समग्र बजार अस्थिर बन्छ ।
बैंक तथा फाइनान्स कम्पनीहरूको नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले जारी गर्नै मौद्रिक नीतिले सेयरबजारलाई अस्थिर बनाउने गरेको छ । राष्ट्र बैंकले विशेषगरी कर्जामा गर्नै कडाइ, व्याजदरमा परिवर्तन र सीसीडी अनुपातजस्ता निर्णयहरूले पनि सेयरबजारमा निकै ठूलो उतारचढाव ल्याउने गरेको छ । जब बैंक तथा वित्तीय संस्थाहरूले सेयर धितोमा कर्जामा कडाइ गर्छन्, बजारमा तरलता घट्छ, जसले बजारमा मूल्य घट्न जान्छ । त्यसैगरी, व्याजदर बढ्दा पुँजीबजारभन्दा बैंकिङ प्रणाली आकर्षक बन्ने भएकाले लगानी पुँजीबजारबाट बाहिर जान थाल्छ । यसले गर्दा पनि सेयरबजार अस्थिर बन्दै गएको छ । यही कारण पनि राष्ट्र बैंकले पछिल्लो समय गठन गरेको डा. रेवतबहादुर कार्की संयोजक रहेको बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले राष्ट्र बैंकलाई दिएको सुझावमा सेयरबजारलाई अस्थिर हुन नदिन यसको जिम्मा धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जलाई छोडिदिन सुझाव दिएको छ । राष्ट्र बैंकले सेयरबजारलाई प्रत्यक्षरुपमा छुने गरी ल्याउने नीतिगत व्यवस्थाले सेयरबजारमा अस्थिरता देखिएको निष्कर्षसहित कार्यदलले यस्तो सुझाव दिएको थियो ।
नेपालमा अझै पनि धेरै लगानीकर्ता सेयरबजारको आधारभूत ज्ञान छैन । तैपनि उनीहरू हल्लाको भरमा सेयरबजारमा प्रवेश गर्छन् । प्राविधिक विश्लेषण, वित्तीय विवरण विश्लेषण, कम्पनी मूल्यांकनजस्ता विषयमा जानकारी नहुनुका कारण उनीहरू बजारको हरेक उतारचढावमा अनावश्यक डराउने वा लोभिने गर्छन् । बजार बढ्दा अझै बढ्छ भनेर उनीहरू सेयर किन्छन् । बजार घट्दै अझै धेरै घट्छ भनेर उनीहरू सेयर बेच्छन् । यसले पनि सेयरबजारलाई अस्थिर बनाएको बजारलाई अस्थिर बनाएको ।
प्रविधिको विकाससँगै पछिल्लो समय मोबाइल एप्स र अनलाइन ट्रेडिङको माध्यमबाट सेयर खरिदबिक्री सहज भएको छ । तर यसले अल्पकालीन सट्टेबाजीलाई प्रोत्साहन दिएको छ । सामाजिक सञ्जालमार्फत फैलाइने सेयरबजारसम्बन्धी गलत सूचनाले गर्दा लगानीकर्ताहरू भ्रममा पर्नेगरेका छन् । डिजिटल पहुँच राम्रो हुनु सकारात्मक पक्ष भए पनि यसको गलत उपयोगले सेयरबजार अस्थिर बन्दै गएको छ । सेयरबजार अस्थिर हुनुका पछाडि अरु धेरै कारणहरू रहेका छन् । संरचनागत कमजोरी, नीति निर्माणको अस्थिरता, लगानीकर्ताको व्यवहार, नियामक कमजोरी तथा सही समयमा सही सूचनाको अभावले पनि पुँजीबजार अस्थिर बन्दै गएको हो ।