काठमाडौं । एनआईसी एसिया लघुवित्तले गत सोमबार स्वास्थ्य सचेतना तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको बराहक्षेत्र शाखाको आयोजना तथा एन्जल फाउन्डेसनको प्राविधिक सहयोगमा बराहक्षेत्र–२, सुनसरीको आदर्श माविमा उक्त कार्यक्रम भएको हो ।
कार्यक्रममा ८८ जना सदस्यहरूको उपस्तिथिति रहेको थियो । कार्यक्रममा शाखा प्रमुख मनोज राई, जनप्रतिनिधि दिपक राई, एन्जल फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत जय सिंह राजवंशीलगायतले हृदयघात, सर्पदंश, जलन, कुकुरको टोकाइ, पानीमा डुब्ने तथा करेन्ट लागेपछि गरिने प्राथमिक उपचारका सम्बन्धमा जानकारीमूलक प्रस्तुति दिएका थिए । त्यसैगरी पाइल्स, फिसर, फिस्टुलाजस्ता रोगको रोकथाम तथा उपचारका विषयमा पनि जानकारी दिइएको थियो । साथै वित्तीय सचेतनाका विषयमा पनि कार्यक्रममा छलफल चलाइएको थियो ।