काठमाडौँ । ४७औँ पुष्पलाल स्मृति दिवसका अवसरमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनका संस्थापक पुष्पलाल श्रेष्ठलाई नेपालीले कहिल्यै पनि बिर्सन नसक्ने पात्रका रूपमा रहेको बताएका छन् ।
अध्यक्ष नेपालले बुधबार एक विज्ञप्ति जारी गर्दै नेपाली जनतालाई अधिकार सम्पन्न बनाउन र नेपाली समाजको रूपान्तरणका लागि पुष्पलालले सुरु गरेको यात्रा अहिले विभिन्न प्रकारले विस्तारित भइरहेको बताए । उनले मुलुकमा निरङ्कुशताविरुद्धको सङ्घर्षमा जनतालाई सङ्गठित गर्न कम्युनिष्ट पार्टी स्थापनामा उनले निर्वाह गरेको भूमिका आज पनि उत्तिकै महत्त्वपूर्ण रहेको उल्लेख गरे ।
कम्युनिष्ट आन्दोलनको विकाससँगै क्रान्तिले एकपछि अर्को उपलब्धि हासिल गरिरहेको उल्लेख गर्दै अध्यक्ष नेपालले पुष्पलालको सिङ्गो जीवनयात्रा, सैद्धान्तिक, वैचारिक रचना र कार्यक्रममा नेपाली जनताको मुक्ति र समाजिक विकासका लागि महत्त्वपूर्ण रहेको विचार व्यक्त गरे । जीवनको अन्तिम घडीसम्म आफ्नो आस्थाप्रति अटल र अविचलित रही पुष्पलाल सङ्घर्षको यात्रामा अघि बढिरहे ।