चौतारा (सिन्धुपाल्चोक) । भोटेकोशी गाउँपालिका-२ कोदारीमा गएरातिदेखि परेको अविरल वर्षाका कारण आएको पहिरोले अरनिको राजमार्ग तातोपानी नाका जोड्ने सडक पूर्णरूपमा बन्द भएको छ ।
आज बिहान करिब ५ः०० बजे भोटेकोशी गाउँपालिका-२ कोदारीस्थित इकु पहिरो क्षेत्रबाट सडक माथिबाट ठूलो मात्रामा पहिरो खस्दा सडक सम्पूर्ण रूपमा बन्द भएको इलाका प्रहरी कार्यालय कोदारीका प्रमुख प्रहरी निरीक्षक जगतबहादुर राईले जानकारी गराए । उनले पहिरोका कारण तातोपानी नाकासँगको आवतजावत र सवारी सञ्चालन पूर्णरूपमा रोकिएको बताए ।
भोटेकोशी गाउँपालिकाका अध्यक्ष पासाङनुर्पु शेर्पाले पहिरो झर्ने क्रम अझै नरोकिएकाले हालको अवस्थामा सडक सञ्चालन गर्न असम्भव देखिएको जानकारी दिए । उनका अनुसार इकु पहिरो क्षेत्र विगतदेखि नै संवेदनशील मानिँदै आएको छ ।
२०७२ सालको भूकम्पले कोदारी बस्ती बगाएपछि उक्त क्षेत्र पहिरोको उच्च जोखिममा परेको अध्यक्ष शेर्पाले बताए । हाल बस्ती पूर्णरूपमा विस्थापित भइसकेको उल्लेख गर्दै उनले सडक खुलाउने सम्भावनाबारे सडक डिभिजन कार्यालय चरिकोट र स्थानीय सरकारबीच छलफल जारी रहेको जानकारी दिए ।