काठमाडौं । नागरिक लगानी कोष र सिद्धार्थ बैंक लिमिटेडबीच उपदान तथा अवकाश कोष सञ्चालनसम्बन्धी सम्झौता भएको छ । सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्की र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेलले हस्ताक्षर गरेका हुन् ।
यो सम्झौतासँगै बैंकले हाल सञ्चालन गर्दै आएको योगदानमा आधारित तथा गैरयोगदानमा आधारित उपदान तथा अन्य अवकाश खाताहरू कोषमा हस्तान्तरण भएको छ । हाल बैंकमा कार्यरत करिब दुई हजार कर्मचारीहरूको उपदान एवं अवकाशसँग सम्बन्धित अन्य रकमको व्यवस्थापन तथा सञ्चालन अब कोषले गर्नेछ ।
चालू आर्थिक वर्ष २०८२/८३ देखि नेपाल सरकारले साबिकमा आन्तरिक राजस्व विभागबाट स्वीकृत प्राप्त अवकाश कोषहरू नागरिक लगानी कोषलगायतका अन्य कोषमा आबद्ध हुनुपर्ने व्यवस्था गरेबमोजिम आर्थिक ऐन, २०८२ मा भएको संशोधनअनुरूप बैंकले आफूले सञ्चालन गर्दै आएको अवकाश कोष नागरिक लगानी कोषमा हस्तान्तरण गरेको हो ।
गत असार ३१ गते आन्तरिक राजस्व विभागले एक सूचना जारी गरी आर्थिक ऐन, २०८२ को दफा २३ मा आयकर ऐन, २०५८ बमोजिम साबिकमा आन्तरिक राजस्व विभागबाट स्वीकृतप्राप्त अवकाश कोषहरू सम्वत २०८३ साल असार मसान्तभित्र नागरिक लगानी कोषलगायतका कोषमा आवद्ध हुनुपर्ने व्यवस्थाको जानकारी समेत गराएको छ ।