काठमाडौँ , अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसामान्य प्रशासनमन्त्री तथा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठसँग घुस प्रकरणमा बयान लिएको छ।कास्की मालपोत कार्यालयको प्रमुखको सरुवा र थमौती सम्बन्धी सार्वजनिक घुस अडियोको अनुसन्धानको क्रममा श्रेष्ठको नाम समेत जोडिएपछि आयोगले उनलाई बुधबार बिहान १० बजे बयानका लागि बोलाएको हो।
आयोग स्रोतका अनुसार, निवर्तमान मन्त्री राजकुमार गुप्ताको अडियो सार्वजनिक भएपछि अनुसन्धानका क्रममा गरिएको फोन ट्र्याकिङमा केही शंकास्पद कल तथा म्यासेज फेला परेका थिए। तीमध्ये केही संवादमा रञ्जिता श्रेष्ठले रकम मागेको आशंका गरिएको छ।"उक्त समयमा मन्त्री रहेकी श्रेष्ठले पनि घुस मागेको देखिएको छ। साथै उनको निजी सुरक्षा अधिकृत (PSO) को मोबाइलबाट पनि लेनदेनसम्बन्धी शंकास्पद म्यासेज आदानप्रदान फेला परेको छ," अख्तियार स्रोतले बतायो। यो समाचार आर्थिक दैनिकले सबैभन्दा पहिले प्रकाशनमा ल्याएको हो।