विराटनगर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) इटहरी नगर समितिको अधिवेशनमाथि उच्च अदालत विराटनगरले अन्तरिम आदेश जारी गर्दै अस्थायी रूपमा रोक लगाएको छ।न्यायाधीश श्रीधरा कुमारी पुडासैनीको एकल इजलासले साउन १० गते तय गरिएको नगर अधिवेशन रोक्न अल्पकालीन अन्तरिम आदेश दिँदै साउन १२ गते दुवै पक्षलाई अदालतमा उपस्थित गराउन आदेश दिएको हो। अदालतमा यो रिट निवेदन रास्वपाका निलम्बित नगर सभापति विष्णुबहादुर बस्नेतले दायर गरेका हुन्। उनले जिल्ला सभापति जीवनकुमार श्रेष्ठलाई विपक्षी बनाउँदै अधिवेशन रोक्न माग गरेका थिए। बस्नेत र श्रेष्ठ दुवैलाई रास्वपाको केन्द्रीय अनुशासन समितिले निलम्बन गरेको थियो। रास्वपाको केन्द्रीय कार्यलयले महेश थापालाई अधिवेशन संयोजक तोकेको थियो। थापाले १ र ३ नम्बर वडाको अधिवेशन पनि गरिसकेका थिए। तर पार्टीभित्रको असन्तुष्ट पक्षले निलम्बित नगर सभापतिलाई छाडेर गरिएको अधिवेशन लोकतान्त्रिक अभ्यासविपरीत रहेको भन्दै अदालतको ढोका ढकढक्याएका थिए। अदालतको यो आदेशपछि अब अधिवेशन अगाडि बढाउने वा नबढाउने विषयमा अन्तिम निर्णय साउन १२ गतेको सुनुवाइपछि हुने स्पष्ट संकेत मिलेको छ।