धरान, धरान उपमहानगरपालिकाले नगर अस्पताल बनाउने योजना तत्काल रोकिएको छ। उपमहानगरपालिकाले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई दिइएको पुरानो अस्पताल क्षेत्रको जग्गा फिर्ता गरिदिन स्वास्थ्य मन्त्रालयलाई अनुरोध गरेको छ।नगर प्रमुख हर्कराज राई (हर्क साम्पाङ) द्वारा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पठाइएको पत्रमा उपमहानगरपालिकाले नगर अस्पताल बनाउन चाहेको उल्लेख गर्दै छाता चौकस्थित जग्गा बीपी प्रतिष्ठानलाई हस्तान्तरण गरिएकाले अस्पतालको योजना अघि बढाउन नसकिएको जनाइएको छ।
पत्रमा भनिएको छ, "धारा उपमहानगरपालिकाको आफ्नै अस्पताल बनाउने योजना छ, तर उक्त जग्गा बीपी प्रतिष्ठानलाई दिइएकाले त्यहाँ अस्पताल निर्माण गर्न सकिने अवस्था छैन। त्यसैले कृपया उक्त जग्गा फिर्ता गरिदिनु होला।"नगर प्रमुख राईले पठाएको पत्र बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, मुख्यमन्त्री कार्यालय र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई समेत पठाइएको छ। नगरवासीको सहज स्वास्थ्य पहुँच सुनिश्चित गर्न नगर अस्पताल आवश्यक रहेको बताउँदै उपमहानगरले मन्त्रालयसँग सहकार्यको आग्रह गरेको हो।