काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पूर्वघोषणा गरेअनुसार मन्त्रालयबाट उपलब्ध हुने विपन्न उपचार सहायता स्वास्थ्य बीमा कार्यक्रममार्फत उपलब्ध गराउन प्रक्रिया थालेका छन् ।
विपन्न उपचार सहायता स्वास्थ्य बीमामार्फत उपलब्ध गराउने खाका तयार पार्न मन्त्री पौडेलले एक विज्ञ समिति गठन गरेका हुन् । समितिलाई एक साताभित्र प्रतिवेदन सुझाव दिन भनिएको मन्त्री पौडेलले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । उनले लेखेका छन्, ‘सरकारबाट प्रदान हुने विपन्न नागरिक उपचार सहायतासहितका सहुलियत स्वास्थ्य बीमा कार्यक्रममार्फत नै उपलब्ध गराउन नीतिगत सुधार गर्ने पूर्व प्रतिबद्धताअनुसार कार्यान्वयन प्रक्रिया आरम्भ गरेका छौँ ।’
यसअघि जटिल आठ प्रकारका रोगका बिरामीलाई स्वास्थ्य बीमा कार्यक्रममार्फत उपचार सहायता दोब्बर गर्ने निर्णय कार्यान्वयनमा आइसकेको उल्लेख गर्दै उनले सबै उपचार सहुलियत एकीकृत ढङ्गबाट प्रदान हुँदा स्वास्थ्य बीमामार्फत प्राप्त हुने सुविधा थप वृद्धि हुने बताएका छन् । मन्त्री पौडेलले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन सरकारले दिने उपचार सहायता स्वास्थ्य बीमामार्फत नै उपलब्ध गराउने र स्वास्थ्य बीमाको नीतिगत तथा कार्यगत सुधार गर्ने घोषणा गरेका थिए । यसअनुसार व्यक्तिले आफू बसेकै स्थानमार्फत स्वास्थ्य बीमाको प्रथम सेवा लिन पाउने व्यवस्था भएको छ । स्वास्थ्य बीमामा आबद्ध भएको तीन महिनापछि सेवा पाउने व्यवस्था परिवर्तन गरेर एक महिनाभित्रै प्राप्त गर्न सकिने बनाइएको छ ।
स्वास्थ्य बीमा कार्यक्रमको सबै बक्यौता यसै आर्थिक वर्षमा शून्यमा झार्ने सरकारले बजेटमार्फत घोषणा गरेको छ । यसले स्वास्थ्य बीमाको भुक्तानीमा देखिएको कठिनाई समेत समाधान हुने अपेक्षा गरिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए । सरकारी सुविधा एकीकृतरूपमा स्वास्थ्य बीमामा थपिँदा यसले कार्यक्रमको आम्दानी समेत वृद्धि हुँदा सेवा दिन थप सहजता हुने स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले बताए ।