काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३६औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । पेसागत महासंघका अध्यक्ष पुण्यप्रसाद ढकालले एक समारोहका बीच वार्षिकोत्सव मूल कार्यक्रमको समुद्घाटन गरेका थिए ।
सो अवसरमा अध्यक्ष ढकालले राज्य तथा रोजगारदाताले श्रमिकको रोजगारी र सेवासुविधामा ध्यान पु¥याउन सके उत्पादकत्व वृद्धिमा स्वतः सहयोग पुग्ने बताए । राष्ट्रिय वाणिज्य बैंकमा हाल भइरहेको आन्दोलनमा महासंघको ऐक्यबद्धता जनाउँदै ढकालले आवश्यक पहलकदमी लिइने र तार्किक निष्कर्षमा पुर्याउने प्रतिबद्धता समेत व्यक्त गरे ।
राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालका अध्यक्ष लक्ष्मीप्रसाद पाण्डेयको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पाण्डेयले सम्झौता भएर पनि कार्यान्वयन हुन नसकेका विषयहरू तत्काल सम्बोधन हुनुुपर्ने अन्यथा थप कडा आन्दोलनका कार्यक्रमहरू सञ्चालन गरिने बताए ।
कार्यक्रममा नेकपा एमाले केन्द्रीय लेखा आयोगका सचिव तथा संघका पूर्वअध्यक्ष शिवकुमार अधिकारी, बैंक, बीमा तथा वित्तीय क्षेत्र कर्मचारी सघ नेपालको राष्ट्रिय समितिका अध्यक्ष धर्मराज मैनाली, बैंक सञ्चालक समितिका नवनियुक्त अध्यक्ष देवकुमार ढकाल, निमित्त प्रमुख कार्यकारी अधिकृत देवेशप्रसाद लोहनी, नेपाल राष्ट्र बैंक कर्मचारी संघका अध्यक्ष रामहरी घिमिरे, नेपाल वित्तीय संस्था कर्मचारी संघ रावा बैंकका अध्यक्ष ईश्वरबहादुर सिंह, नेपाल राष्ट्रिय कर्मचारी संगठन रावा बैंकका अध्यक्ष दिपेन्द्र कार्कीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा पेसागत हक, हित तथा संस्थाको संवर्द्धनका विषयमा व्यापकरूपमा विषय उठान गरिएको थियो ।
कार्यक्रममा संघको कर्णाली प्रादेशिक समितिलाई कार्यसम्पादन मूल्यांकनमा उष्कृष्ट भएबापत रनिङ शिल्ड प्रदान गरिएको थियो । वार्षिकोत्सवको अवसरमा आयोजित ‘राष्ट्रिय वाणिज्य बैंकको सन्दर्भमा योगदानमा आधारित उपदानः कर्मचारीमा परेको प्रभाव र समाधानका उपायहरू’ विषयक निबन्ध प्रतियोगितामा जानकीकुमारी न्यौपाने प्रथम, रमा पराजुली द्वितीय र राकेशकुमार राय तृतीय भएका थिए । सोही अवसरमा म्युजिकल चेयर खेल प्रतियोगिता सञ्चालन गरिएकोमा रेनुका न्यौपाने प्रथम, एलिना गौतम द्वितीय र कोपिला ढकाल तृतीय भएका थिए । विजयी प्रतियोगीहरूलाई मूल समारोहका अतिथिद्वारा पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
संघका महासचिव रविन्द्रप्रसाद चौलागाईंले सञ्चालन गरेको उक्त कार्यक्रममा वरिष्ठ उपाध्यक्ष बद्रीप्रसाद तिमिल्सनाले स्वागत मन्तव्य दिएका थिए । कार्यक्रममा संघका पूर्वअध्यक्षहरू, विभिन्न प्रतिष्ठानस्तरका ट्रेड युनियनका अध्यक्षहरू, बैंकका उपकार्यकारी अधिकृतहरू, विभागीय प्रमुखहरू, उप्रमुखहरू, शाखा प्रबन्धकहरू, संघका पदाधिकारीलगायत कर्मचारीहरूको उपस्थिति थियो । मूल समारोह हुनूअघि राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालय परिसरमा अध्यक्ष लक्ष्मीप्रसाद पाण्डेय तथा वरिष्ठ उपाध्यक्ष बद्रीप्रसाद तिमल्सिनाले संयुक्तरूपमा संघको झण्डोत्तोलन गरेका थिए । केन्द्रीय समितिबाट गत साउन २ गते आयोजित रक्तदान कार्यक्रममा ७७ जना बैंकका कर्मचारीहरूले रक्तदान गरेका थिए भने स्वास्थ्य शिविर कार्यक्रममा एक सय २५ जना सहभागी थिए ।
संघको वार्षिकोत्सव कार्यक्रम संघको केन्द्रीय समितिका अलावा विभिन्न प्रदेश समितिहरूमा समेत विविध कार्यक्रम गरी मनाइएको छ । कोशी प्रदेश समितिले जनमत सरस्वती आधारभूत विद्यालयका ८० जना विपन्न विद्यार्थीहरूलाई स्टेसनरी सामग्री प्रदान गर्यो भने मधेश प्रदेश समितिले वीरगञ्जस्थित मानव सेवा आश्रममा भोजन कार्यक्रम तथा शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम गरेको छ ।