काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले निजी क्षेत्रको विकासका लागि कांग्रेस सधैँ प्रतिबद्ध रहेको बताएका छन् ।
नेपाल उद्योग परिसंघका नवनिर्वाचित अध्यक्ष वीरेन्द्रराज पाण्डे नेतृत्वको पदाधिकारीहरूसँगको छलफलमा उनले खुला बजार अर्थतन्त्रको पक्षपोषक कांग्रेसले निजी क्षेत्रको विकासका लागि जोड दिँदै आएको बताए ।
सो छलफलमा परिसंघका अध्यक्ष पाण्डेले परिसंघले आगामी एक दशकमा मुलुकको अर्थतन्त्रको आकार एक अर्ब डलर र दोहोरो अंकको आर्थिक बृद्धि गराउने लक्ष्य लिएको जानकारी गराएका थिए । सो लक्ष्य हासिल गर्न आठ वटा क्षेत्रलाई केन्द्रमा राख्नुपर्ने प्रारम्भिक अध्ययनले देखाएको र बृहत् अध्ययन सुरु गरेको उनको भनाइ थियो । परिसंघले यो उपलब्धि हासिल गर्न कुन क्षेत्रमा कति लगानी आवश्यक रहेको र कानुनी एवं नीतिगत सुधार कस्तो हुनुपर्ने स्पष्टरूपमा सुझाव तयार पार्ने उनले जानकारी गराएका थिए । छलफलमा परिसंघका उपाध्यक्षहरू राज बहादुर शाह, हेम राज ढकाल, महानिर्देशक डा. घनश्याम ओझालगायत सहभागी थिए ।