धरान (सुनसरी) । सशस्त्र प्रहरी बलको टोलीले सुनसरीमा भन्सार छली गरी ल्याइएको १७ लाखभन्दा बढी मुल्य बराबरको लत्ताकपडा र मोटरसाइकल बरामद गरेको छ । भारतबाट भन्सार छली गरी नेपाल भित्र्याइएको १७ लाख ५० हजार ८०५ रुपैयाँ बराबरको लत्ताकपडा, जुत्ता, किराना सामग्री र चार वटा मोटरसाइकल सशस्त्र प्रहरी बल, नेपाल नं ४ गण हेडक्वाटर सुनसरीबाट खटिएको विभिन्न गस्ती टोलीले नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरी बलको गस्ती टोलीले बिहीबार बिहान सुनसरीको गढी गाउँपालिका–२, औरावनी, इनरुवा नगरपालिका–४ हनुमानचोकस्थित पूर्वपश्चिम लोकमार्ग, दुहबी नगरपालिका–११ नहरचोकलगायतका ठाउँमा जाँचका क्रममा उक्त सामान बरामद गरेको सशस्त्र प्रहरी बल, नेपाल नं ४ गण हेडक्वाटर सुनसरीका सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिए ।
प्रहरीलाई देखेपछि उक्त घटनामा संलग्न व्यक्ति सामान र मोटरसाइकल छोडेर फरार भएका छन् । को १९ प ९०९२ ग्ल्यामर, को ३ प १२० होन्डा साइन, प्रदेश १–०२–०३६ प ३६०८ आरटिआर अपाचे र प्रदेश १–०२–०५४ प ६७८३ आरटिआर अपाचेमोटरसाइकल बरामद गरिएको छ ।
प्रहरी उपरीक्षक थापाले मोटरसाइकल र बरामद भन्सार छली सामग्री आवश्यक कारबाहीका लागि मुख्य भन्सार कार्यालय, सेतुबन्ध, कोशी ब्यारेजमा बुझाइएको जानकारी दिए ।