काठमाडौँ ,नेकपा एमाले संसदीय दलकी सचेतक सुनिता बरालले नेपालमा आत्महत्याको अवस्था डरलाग्दो ढंगले बढिरहेको भन्दै यसप्रति गम्भीर चिन्ता व्यक्त गरेकी छन्। प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै उनले मानसिक स्वास्थ्य र आत्महत्याका घटनाहरू नियन्त्रण गर्न तत्काल र दीर्घकालीन कदम चाल्नुपर्ने आवश्यकता औँल्याइन्। उनका अनुसार नेपाल प्रहरीले संकलन गरेको एक वर्षको तथ्याङ्कमा ६ हजार १०२ जनाले आत्महत्या गरेका छन्, जसमध्ये ५ हजारले झुण्डिएर ज्यान लिएका छन्। उनले यो आँकडा झनै भयावह हुन सक्ने उल्लेख गर्दै, समाज र सरकार दुवै जागरूक हुनुपर्ने बताइन्।सांसद बरालले सामाजिक सञ्जालको अत्यधिक प्रयोग मानसिक समस्याको प्रमुख कारक बन्न थालेको दाबी गरिन्। एक अन्तर्राष्ट्रिय अध्ययन उद्धृत गर्दै उनले दैनिक ६ घण्टाभन्दा बढी समय सामाजिक सञ्जाल चलाउने व्यक्तिमा चिन्ता, डिप्रेसन, एक्लोपन, निद्रा सम्बन्धी समस्या लगायतका मानसिक असन्तुलन देखिने उल्लेख गरिन्। उनले साइबर सेफ्टी तथा सामाजिक सञ्जाल सम्बन्धी शिक्षाको खाँचो औँल्याउँदै, मानसिक स्वास्थ्य परामर्शका लागि प्रभावकारी नीतिहरू आवश्यक रहेको बताइन्। साथै, सामाजिक सञ्जालको प्रयोगलाई स्वास्थ्य सुरक्षाका मापदण्डमा राख्दै सरकारले आवश्यक कानुनी तथा संरचनात्मक पहल गर्नुपर्नेमा समेत जोड दिइन्।