काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । नियम कानुनविपरीत काम गरेको भन्दै राष्ट्र बैंकका गभर्नर पौडेलमाथि छानबिन गर्न राष्ट्रभक्त नेपालीको नामबाट साउन ४ गते आयोगमा उजुरी दर्ता भएको हो । उजुरीदर्ताको क्रममा निवेदकले प्रमाणको रूपमा गभर्नर पौडेलले शैक्षिक योग्यतामा आफैँले गरेको टिप्पणी, विभिन्न क्षेत्रमा पेश गरेको शैक्षिक योग्यतासम्बन्धी कागजपत्रहरू, बैंक तथा वित्तीय संस्थामा रहेको सेयर र राजनीतिक दलको प्रतिनिधित्व गर्ने बलिया आधारहरू पेश गरेका छन् ।
गभर्नर डा. पौडेलविरुद्ध आयोगमा दर्ता गरेको उजुरीपत्रमा भनिएको छ, ‘प्रस्तुत विषयमा नेपाल राष्ट्र बैंकका निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको पदावधि मिति २०८९ चैत २३ गते समाप्त हुनेमा नेपाल राष्ट्र बैंक नियमावली (नेपाल राष्ट्र बैंक ऐन, २०५८ प्रथम संशोधन, २०६३ समेत मिलाइएको रूपमा) बमोजिम १ (एक) महिना अगावै आवश्यक प्रक्रिया पुर्याई गभर्नर नियुक्त गरिसक्नुपर्नेमा मिति २०८१ चैत १० गते मात्र गभर्नर छनौट समिति गठन गरिएको थियो । राष्ट्र बैंक ऐनको दफा १५ उपदफा २ को (क) (खर (ग) मा समितिको अध्यक्षमा नेपाल सरकारका माननीय अर्थमन्त्री पदेन रहने र पूर्वगभर्नरहरूमध्येबाट १ (एक) जना सदस्य तथा विषय विज्ञ (आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय तथा वाणिज्य कानुनको क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरूमध्येबाट नेपाल सरकारले तोकेको १ (एक) जना व्यक्ति सदस्य रहने व्यवस्था छ ।’
‘२०८९ चैत १० मा गठित समितिमा राजनीतिक चलखेल हुन थालेपछि पूर्वगभर्नरहरूमध्येबाट नेपाल सरकारले नियुक्त गरेका विजयनाथ भट्टराईले राजीनामा गरे । यसबाट नै अवाञ्छित कार्यको थालनी भएको प्रष्ट हुन जान्छ । यसपछि पूर्वगभर्नरहरूमध्येबाटको ठाउँमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई सिफारिस समितिमा नियुक्त गर्नुले गभर्नर भएको समयमा आफूले गरेका गल्ती कमजोरीहरू ढाकछोप गर्न उत्तराधिकारीको खोजी गर्ने अवसर प्रदान गरेको देखिन आउँछ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा २० मा गभर्नर पदमा नियुक्त हुनका लागि आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन, जनप्रशासन, तथ्याङ्कशास्त्र, गणित वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको र यी क्षेत्रहरूमा कम्तीमा पनि १० वर्षको कार्यगत अनुभव भएको हुनुपर्ने योग्यता तोकिएको छ । तर उजुरीमा गभर्नर पौडेलमा यो योग्यता नभएको उल्लेख छ’ उजुरी पत्रमा उल्लेख छ ।
‘२०७९ मंसिर महिनाको प्रतिनिधिसभा सदस्यमा चितवन जिल्लाको क्षेत्र नम्बर १ मा तेस्रो स्थान प्राप्त गरी पराजित हुनुभएको हो । यसैगरी उपदफा (घ) मा वाणिज्य बैंक वा वित्तीय संस्थामा पाँच प्रतिशत वा सोभन्दा बढी सेयर वा मतदानको अधिकार भएको व्यक्ति तर गभर्नर पौडेल सानिमा बैंकको संस्थापक सेयरधनी रहेको जानकारी प्राप्त भएको छ । यसरी वाणिज्य बैंक संस्थापकलाई नियमनकारी संगठनको प्रमुख बनाएपछि सुशासन कहाँ र कुन कुनामा पुग्छ भनेर अड्कल गर्न सकिँदैन’, पत्रमा भनिएको छ ।
डा. पौडेल गभर्नर सिफारिस समितिको सदस्यमा चयन भई एक महिना बढी व्यतित गर्ने व्यक्ति हुन् जो नेपाली काँग्रेस पार्टीले मलाई गभर्नर हुन जा भनेर दबाब दियो बाध्यताले मन नहुँदा नहुँदै पनि राजीनामा गरेर आए भनेर पटक–पटक भन्दै आएको विषय पनि उजुरीमा उल्लेख छ । पछिल्लो समय गभर्नर पौडेलले आफूलाई प्राडा लेख्न थालेका छन् । उनको प्राडामा पनि शंका गर्ने धेरै ठाउँ छ । काठमाडौं विश्वविद्यालयले उनलाई कहिले प्राडाको उपाधि दियो यसमा छानबिन गर्न माग गरिएको छ ।
‘सामान्य जनमानसमा थाहा हुन आएका उपरोक्त तथ्यहरूबाहेक के–कति र कस्तो अवस्थामा नेपाल सरकारबाट गठित समितिबाट गरिएको अख्तियारको दुरुपयोगको छानबिन गरी नियम कानुनविपरीत नियुक्ति गरिएका नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेललाई पदमुक्त गरियोस् भनी श्रीमान् समक्ष यो उजुरी पेश गरेको छु’, पत्रमा भनिएको छ । यसैगरी, योग्यताविहीन व्यक्तिलाई गभर्नरजस्तो पदमा नियुक्ति दिने गभर्नर सिफारिस समितिका सदस्य विष्णुप्रसाद पौडेल, छनौट समिति सदस्यहरू डा. पोषराज पाण्डे र महाप्रसाद अधिकारी र मुख्यसचिव एक नारायण अर्याललाई कारबाही गर्न उजुरीकर्ताले माग गरेका छन् ।
उजुरीकर्ताले पेस गरेका कारबाही गरिहाल्नुपर्ने बलिया कारणहरू
गभर्नर डा. विश्वनाथ पौडेलले सफ्टवेयर इन्जिनियरिङमा स्नातक तह अध्ययन गरेका छन् भने रिसोर्स एग्रिकल्चरमा पीएचडीको उपाधि हासिल गरेको देखिन्छ । तर नेपाल राष्ट्र बैंक ऐन २०५८ (प्रथम संशोधन २०६३ समेत मिलाइएको रुपमा) को दफा १५ को उपदफा २ को (क) (ख) र (ग) बमोजिम नेपाल सरकारबाट गठित समितिले उपदफा ३ बमोजिम गभर्नर नियुक्तिको लागि सिफारिस गर्दा आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन तथा वाणिज्य कानुन क्षेत्रमा स्नातकोत्तर व्यक्तिहरू हुनुपर्ने उल्लेख छ । यसबाहेक उनी विभिन्न बैंक तथा वित्तीय संस्थामा मुख्य सेयर लगानीकर्ता रहेको देखिएको, नेपाली काँग्रेसको दलको सदस्यता लिएको र राष्ट्र बैंकलाई नै नेपाली काँग्रेसको कार्यालय बनाउने काम भइरहेको उजुरीमा उल्लेख छ । पौडेलले हाल प्राडा लेख्न थालेको तर सो उपाधिमै आशंका देखिन्छ । उनले कुन मितिमा प्राडा उपाधि प्राप्त गरेका हुन् ? काठमाडौं युनिभर्सिटीको कुन बैठक वा कुन मितिको निर्णयबाट प्राडा उपाधि दिइएको हो ? यो विषयको अध्ययन हुनुपर्छ ।’ पत्रमा भनिएको छ ।