दोलखा । जिल्लाको गौरीशंकर गाउँपालिका वडा नम्बर–९ रिकुमा निर्माणाधीन २० मेगावाटको रोल्वालिङ खोला जलविद्युत् आयोजनाको काम डेढ महिनादेखि बन्द भएको छ । स्थानीयको मागलाई सम्बोधन गरेर आयोजनाको निर्माण कार्य अगाडि बढाउनगरी आयोजनाले २०८१ असार ३ गते स्थानीयसँग सम्झौता गरेको थियो । तर आयोजनाले सम्झौताअनुसार काम अघि बढाएको छैन । यहाँका स्थानीयले आयोजनासँग तीन वटा माग राखेका छन् । उनीहरूले गोगंंर खोलादेखि रिंकुसम्मको गोरेटो पैदलमार्गलाई तीन मिटर चौडाको साना सवारी ओहोरदोहोर गर्नसक्ने गरी सडक स्तरोन्नति गर्नुपर्ने, आयोजना स्थलको जग्गाको उचित मुआब्जा दिनुपर्ने र आयोजनास्थलका स्थानीयलाई अनिवार्य रोजगारी दिनुपर्ने माग राखेका छन् ।
तर आयोजनाले लामाबगर गोगंर खोलादेखि रिकु जोड्ने गोरेटो बाटो निर्माण स्थानीयसँगको सहमतिविपरीत अलपत्र पारेको यहाँका स्थानीयको भनाइ छ । आयोजना निर्माणस्थलका स्थानीयलाई रोजगारी दिने सुनिश्चितता गरे पनि काम रोकेर राखेको स्थानीय होमबहादुर खड्काले बताए । भौगोलिक हिसाबले हालसम्म सडक सञ्जालले छुन नसकेको रिकुमा तीन मिटर चौडाको सडक–पैदलमार्ग तथा हाइड्रोपावर निर्माण गर्ने गरी आयोजनाले काम थालेको थियो । साथै, आयोजनाले स्थानीयको सामान ढुवानीको लागि निर्माण गर्न लागेको काभ्रेभीरदेखि रिकुसम्मको तीन टन क्षमताको मेटेरियल रोपवे बनाउने गरी काम सुरु गरेको थियो ।
आयोजनाले निर्माणधीन रोपवे उईन्चको लठ्ठा (मेन केवल) लाई नउठाई बेवारिसे अवस्थामा छाडेको थियो । स्थानीयले उक्त उईन्चलाई उठाई अत्यावश्यक खाद्यान्नलगायतको सामान ढुवानी गरेका थिए । तर आयोजना निर्माण कम्पनी एसएससीई हाई हिमालय जेभीले उक्त उईन्च उठाएपछि स्थानीयविरुद्ध नै जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय दोलखालाई पत्र काटेर पुनःरोपवे बन्द गर्न निर्देशन दिएको स्थानीय खड्काले बताए । खड्काका अनुसार निर्माण कम्पनीको लापरबाहीको कारण उक्त रोपवेको केही समयअघि (मेनकेवल) लठ्ठा झरेको थियोे ।