काठमाडौं । नियमविपरीत कार्य गर्ने चार वटा बैंक तथा वित्तीय संस्था कारबाहीमा परेका छन् । आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासमा बैंक तथा वित्तीय संस्था सञ्चालन सम्बन्धी ऐननियमको उल्लङ्घन गरेको आधारमा दुईवटा वाणिज्य बैंक र दुईवटा फाइनान्स कम्पनीलाई राष्ट्र बैंकले कारबाही गरेको हो ।
राष्ट्र बैंकले पोखरा फाइनान्स कम्पनीलाई अनिवार्य नगद मौज्दात नपुगेपछि जरिवाना लगाएको छ । २०८१ माघ २७ देखि चैत २३ सम्म न्यूनतम अनिवार्य मौज्दात रकम कायम नगरेकाले ३२ लाख ७७ हजार छ सय ७६ रुपैयाँ ३५ पैसा जरिवाना लगाएको छ । यसैगरी, गुह्येश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतलाई पनि राष्ट्र बैंकले कारबाही गरेको छ । फाइनान्सको नोक्सानी व्यवस्था तथा वर्गीकरण नेपाल राष्ट्र बैंकमा गरिएको रिपोटिङमा कैफियत पाइएको र कतिपय कर्जाको वक्यौता व्याज/किस्ता असुल गर्न थप कर्जा प्रवाह गरी कर्जा नियमित गरेको र यी सबै कारणहरूले कर्जा नोक्सानी व्यवस्था प्रभावित भई संस्थाको वित्तीय विवरण यथार्थपरक नदेखिएको भन्दै केन्द्रीय बैंकले सचेत गराउँदै कारबाही गरेको हो । यस्तै, बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा १४ को उपदफा (१) को खण्ड (ख) मा भएको व्यवस्थाविपरीत संस्थाले वार्षिक साधारणसभाभन्दा अगाडि रिक्त भएको सञ्चालक पदको नियुक्ति वार्षिक साधारणसभापछि पनि नगरेपछि सचेत गराइएको राष्ट्र बैंकको जनाएको छ । गुह्येश्वरी फाइनान्सकै सञ्चालक समिति सदस्यहरू सजिना अमात्य र दिपेश गोर्खाली सञ्चालक नियुक्तिको लागि निर्वाचनको प्रक्रियामा नगएको र वार्षिक साधारणसभा अगाडि पनि मात्र सञ्चालक समितिबाट सञ्चालक नियुक्त गरेकाले तत्कालको वार्षिक साधारणसभा छली सञ्चालक नियुक्त गर्ने मनसाय राखेको देखिएको हुँदा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) को खण्ड (क) बमोजिम छुट्टाछुट्टै पत्रमार्फत सचेत गराइएको पनि राष्ट्र बैंकले जनाएको छ ।
गुह्येश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सकै सञ्चालक समिति सदस्य रेश्मा श्रेष्ठलाई बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा १४ को उपदफा (१) को खण्ड (ख) मा भएको व्यवस्थाविपरीत संस्थाले वार्षिक साधारणसभाभन्दा अगाडि रिक्त भएको सञ्चालक पदको नियुक्ति वार्षिक साधारणसभा अगाडि पनि नगरेको, वार्षिक साधारणसभामा रिक्त सञ्चालक नियुक्तिको लागि निर्वाचनको प्रक्रियामा नगएको र वार्षिक साधारणसभा समापन भएपछि मात्र सञ्चालक समितिबाट सञ्चालक नियुक्त गरेकाले तत्कालको वार्षिक साधारणसभा छली सञ्चालक नियुक्त गर्ने मनसाय राखेको देखिएको तथा बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा १३३ मा भएको व्यवस्थाबमोजिम कर्मचारीको उपदानको विषयमा संस्थाको कर्मचारी विनियमावलीमा गरेको संशोधन स्वीकृति नगराई कार्यान्वयनमा ल्याएको भेटेपछि राष्ट्र बैंकले सचेत गराएको हो ।
गुह्येश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सकै श्रीमान् श्रेष्ठ, तत्कालीन सञ्चालक समिति अध्यक्ष–सरोजनी श्रेष्ठ (तत्कालीन सञ्चालक समिति सदस्य) र राजेश मानन्धर (तत्कालीन सञ्चालक समिति सदस्य) संस्थाको सञ्चालक समितिको अध्यक्ष रहेको अवधिमा बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा १३३ मा भएको व्यवस्थाबमोजिम कर्मचारीको उपदानको विषयमा संस्थाको कर्मचारी विनियमावलीमा गरेको संशोधन यस बैंकबाट स्वीकृति नगराई कार्यान्वयनमा ल्याएको हुँदा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) को खण्ड (क) बमोजिम छुट्टाछुट्टै पत्रमार्फत सचेत गराइएको राष्ट्र बैंकको भनाइ छ ।