काठमाडौं । निभिक्स फर्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गर्न लागिएको १३ लाख ७५ हजार कित्ता साधारण सेयरको प्रत्याभूति व्यवस्थापन कार्य गर्न मुक्तिनाथ क्यापिटल लिमिटेडसँग सम्झौता गरेको छ । बुधबार भएको उक्त सम्झौतापत्रमा निष्काशन कम्पनीको तर्फबाट प्रबन्ध सञ्चालक इन्द्र वानिया र मुक्तिनाथ क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् । उक्त कार्यक्रममा कम्पनीका अध्यक्ष कालिदास पौडेल, सञ्चालक फार्मासिस्ट सुजन चन्द्र सिग्देल, चार्टर्ड अकाउन्टेन्ट अनिल पौडेलको पनि सहभागिता रहेको थियो ।
विसं २०७४ सालमा स्थापना भएको निभिक्स फर्मास्युटिकल्सले मिति २०८१/०९/०२ गते पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण भई औषधि व्यवस्था विभागबाट समेत उत्पादन तथा बजारीकरणको दर्ता प्रमाणपत्र प्राप्त गरिसकेको छ । कम्पनीले हाल ५६ प्रकारका औषधिहरू उत्पादन तथा बजारमा बिक्री वितरण गर्दै आएको छ ।
कम्पनीले मुख्यरूपमा मुटु रोग, मधुमेह, श्वास–प्रश्वास, कलेजो र पेटसम्बन्धी रोगहरूको उपचारमा प्रयोग हुने औषधिहरू उत्पादन गर्दै आइरहेको छ तथा नयाँ औषधिहरूमा अनुसन्धान तथा उत्पादन विस्तारको तयारी पनि गरिरहेको छ ।