काठमाडौं । नेबिको लिमिटेडले प्राथमिक सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले २० करोड मूल्यबराबरकोे सेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो । कम्पनीले उक्त सेयर निष्काशनका लागि सिद्धार्थ क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
सो सम्बन्धमा नेबिको लिमिटेड र सिद्धार्थ क्यापिटल लिमिटेडबीच सेयर निष्काशनसम्बन्धी सम्झौता बिहिबार सिद्धार्थ क्यापिटल लिमिटेडको नक्साल, काठमाडौंस्थित कार्यालयमा भएको हो । नेबिको लिमिटेडका तर्फबाट अध्यक्ष राजबहादुर सिंह र सिद्धार्थ क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्दिप कार्कीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
नेबिको लिमिटेड सन् १९६४मा स्थापना भएको नेपालकै पुरानो र प्रख्यात खाद्य उत्पादन कम्पनी हो । काठमाडौंको बालाजु औद्योगिक क्षेत्रमा रहेको मुख्य कारखाना तथा हेटौंडा, भैरहवामा थप भएका उद्योगबाट बिस्कुट र कन्फेक्सनरी उत्पादन गर्दै आएको यस कम्पनीको वार्षिक उत्पादन क्षमता एक हजार पाँच सय मेट्रिक टन रहेको छ । यसको व्यापार विभिन्न प्रमुख खाद्य क्षेत्रमा छ । बिस्कुट, कन्फेक्सनरी, कुकिज, सिरियल्स कम्पनीका हालका मुख्य उत्पादनहरू हुन् । आगामी आर्थिक वर्षहरूमा कम्पनीको बेकरी, वेफर, पफलगायतका उत्पादनहरू स्वदेश र विदेशमा विस्तार गर्ने योजना रहेको छ । यसको लागि हेटौंडा औद्योगिक क्षेत्रमा कम्पनीको भवन निर्माणसम्पन्न भइरहेको छ, भने आवश्यक मसिन खरिदप्रक्रिया अगाडि बढिरहेको जानकारी कम्पनीका कार्यकारी प्रमुख श्री होम नाथ न्यौपानेले दिएका छन् ।