काठमाडौं । नाइमा मोबिलिटी सोमा म्याक्सअस मिफा ७ एमपीभी विद्युतीय कार लन्च हुने भएको छ । यही साउन २१ गतेदेखि २५ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुन लागेको नाइमा मोबिलिटी सोमा सो विद्युतीय कार सार्वजनिक गर्न लागिएको हो ।
चाइनाको प्रख्यात साइक मोटर्स ग्रुपअन्तर्गतको म्याक्सअस ब्रान्डको यो गाडी अत्यन्त सुविधायुक्त प्रिमियम गाडीमा गनिन्छ । केही समयअघि यही म्याक्सअस ब्रान्डकै इटेरोन ९ विद्युतीय लक्जरी ४ डब्लुडी पिकअप समेत नेपालको मनाङ जिल्लामा लगेर लन्च गरिएको थियो । सात सिट क्षमताको यो लक्जरी एमपीभीलाई म्याक्सअसको नेपालका लागि आधिकारिक वितरक हिमालय मोट्रक्सले भित्र्याउन लागेको हो । हिमालयन मोट्रक्स हिमालय अर्गनाइजेसनअन्तर्गतको कम्पनी हो । यस अर्गनाइजेसनका प्रबन्ध निर्देशक सौरव थापाका अनुसार यो मिफा ७ नेपालमा प्रिमियम कार चढ्नेहरूको लागि अत्यन्त उपयुक्त हुनेछ ।
९० किलोवाट आवर ब्याट्री क्षमता रहेको म्याक्सअस मिफा ७ ले डीसी फास्ट चार्जर सर्पोट गर्नेछ । ३० मिनेटमा नै ३० देखि ८० प्रतिशतसम्म चार्ज हुने भनिएको यस मल्टी–प्रपोज भेहिकलमा इलेक्ट्रिक स्लाइडिङ ढोका, एईबी, ब्लाइन्ड स्पट मोनिटरिङ, ३६० डिग्री क्यामेरा, लेन–किप असिस्ट, स्वचालित इमर्जेन्सी ब्रेकिङ, अडप्टिभ क्रुज कन्ट्रोलजस्ता सुरक्षा फिचर्स रहेका छन् । साथै, यो गाडीले युरो एनक्याप, सी– एनक्याप, ए–एनक्यापमा ५ स्टार रेटिङ पाएको छ । यस गाडीको ९० केडब्लुएचको उच्च क्षमताको ब्याट्रीले छ सय ३५ किमी सम्मको उच्चतम दूरी तय गर्ने क्षमता राख्छ ।
प्रिमियम ड्युल १२ दशमलव तीन इन्च डिजिटल डिस्प्लेका साथै अड्वान्स्ड मल्टिमिडिया सिस्टम, ठूलो साइजको प्यानोरामिक सनरूफ, हाई–परफर्मेन्स एक सय ८० किलोवाट इलेक्ट्रिक मोटर(३५० एनएम टर्क), मसाज सिट समेत यस गाडीको विशेषता रहेको छ । आठ वर्ष वा दुई लाख किमी ब्याट्रीमा तथा पाँच वर्ष वा एक लाख किमी मोटर वारेन्टी भएको यो म्याक्सअस मिफा ७ इलेक्ट्रिक एमपीभीले लक्जरी र आरामको नयाँ मानक स्थापित गर्दै विश्वस्तरीय डिजाइन, हाइ–टेक फिचरहरूका साथ असाधारण सुविधाहरूको संयोजन गरेर परिवार र व्यावसायिक यात्राको लागि अद्वितीय अनुभव प्रदान गर्ने दाबी कम्पनीको रहेको छ ।