पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो नेकपा एमाले पार्टी सदस्यता कसैले हटाउन नसक्ने स्पष्ट पारेकी छन्। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले एमालेको केन्द्रीय कमिटीको सदस्यता नवीकरण नगर्ने निर्णयको आलोचना गर्दै उक्त प्रतिक्रिया दिएकी हुन्।“म पार्टी सदस्य भएकै ४५ वर्ष भयो। त्यो सदस्यता मैले मदन भण्डारी कोसी (सगरमाथा) इञ्चार्ज हुँदा लिएको हुँ,” पूर्वराष्ट्रपतिले भनिन्, “अब कसैलाई लागेको भरमा मेरो सदस्यता फाल्न सकिँदैन।”
उनको भनाइले एमाले भित्रको आन्तरिक विवाद पुनः सतहमा आएको देखिएको छ। केन्द्रीय कमिटी बैठकले भण्डारीको सदस्यता नवीकरण नगर्ने निर्णय गरेपछि उक्त विषयले नयाँ बहस निम्त्याएको छ।पूर्वराष्ट्रपति भण्डारी एमालेको स्थायी कमिटी सदस्यसमेत रहेकी थिइन्, तर पार्टीको पछिल्लो गतिविधिमा सक्रियता नदेखाएपछि नेतृत्वस्तरमा उनको भूमिकामाथि प्रश्न उठ्दै आएको थियो। भण्डारीको यो भनाइसँगै एमालेमा नेतृत्वको असहिष्णुता र पुराना नेताप्रति व्यवहारको विषय पुनः चर्किन सक्ने आँकलन गरिएको छ।