भक्तपुर, नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीका लागि अब पार्टीको ढोका बन्द भइसकेको स्पष्ट पारेका छन्। शुक्रबार नेपाल प्रेस सोसाइटीले भक्तपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले भण्डारीको एमाले सदस्यता अब नवीकरण नहुने दाबी गरे। पूर्व उपाध्यक्षको हैसियतमा भण्डारीले बिहीबार पत्रकार सम्मेलन गरी आफ्नो सदस्यता विधिसम्मत ढंगले नवीकरण भएको र कसैले हटाएर नहट्ने दाबी गरेकी थिइन्। तर, गौतमले त्यसप्रति प्रतिक्रिया दिँदै भने, "उहाँले आफूलाई सामान्य विद्यादेवी भण्डारी सम्झिनुभयो, तर देशको पूर्व राष्ट्रपतिको भूमिकासमेत आत्मसात गर्नुभएन।" उनका अनुसार एमाले विधानको धारा ८ र ९ अनुसार राष्ट्रपतिले स्वतः सदस्यता गुमाउने व्यवस्था छ। "सभामुख, उपसभामुख, राष्ट्रियसभा अध्यक्षजस्ता पदमा सदस्यता स्थगित हुन्छ, तर राष्ट्रपति भएपछिको अवस्था फरक हुन्छ। सांसद पदबाटै राजीनामा दिनुपर्छ।", गौतमले स्पष्ट पारे।‘राजनीति ललिपप होइन’ पूर्व राष्ट्रपति भण्डारीले पुनः सक्रिय राजनीतिमा फर्किने संकेत दिएको सन्दर्भमा गौतमले कटाक्ष गर्दै भने, "राजनीतिमा उमेर पुगेका व्यक्तिहरू राष्ट्रपतिको ललिपप देखेर प्रवेश गर्ने ठाउँ होइन।" उनले पार्टीको निर्णय प्रक्रियामा सबैको सहभागिता हुने बताउँदै पूर्व राष्ट्रपतिलाई निषेध गरिएको भन्ने आरोपको खण्डन पनि गरे। "७० वर्ष उमेर सीमा, दुई कार्यकालको व्यवस्था, र पूर्व राष्ट्रपतिको सक्रियता निषेध गर्ने निर्णय पार्टीभित्र छलफलबाटै लिइएको हो," गौतमले जोड दिए। यससँगै उनले भण्डारीको पार्टी सदस्यता अब निष्क्रिय भइसकेको बताउँदै, "केन्द्रीय कमिटीले नै उहाँ अब पार्टीमा फर्किन सक्नुहुन्न भनी निर्णय गरिसकेको छ," भने।