काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सहभागी संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भएको ‘मानव तस्करी’ घटनाको छानबिन सुरु भएको छ । गत जुन ३० देखि यही जुलाई २ सम्म चलेको संयुक्त राष्ट्रसंघको ‘विकासका लागि वित्त’को चौथो अन्तर्राष्ट्रिय सम्मेलनका नाममा भएको ‘मानव तस्करी’बारे छानबिन थालिएको हो ।
सम्मेलनमा सहभागी गराउने नाममा मानव तस्करी गर्ने समूहले प्रतिव्यक्ति १५ लाख रुपैयाँ लिएर स्पेनसहितका मुलुकमा युवाहरुलाई पठाउने गरेको भेटिएको थियो ।
सोसँगै अघि बढाइएको छानबिनका क्रममा उक्त प्रकरणमा काठमाडौंमा भूमिगत कार्यालय सञ्चालन गरी मानव तस्करी गर्ने गिरोह नै संलग्न रहेको खुलेको छ । यो समूहका व्यक्तिहरु उच्च राजनीतिक पहुँच भएको र उनीहरुले नेपालको राजनीतिमा विरासत बनाएको कोइराला परिवारसम्म पहुँच पुर्याएको पाइएको छ । प्रहरीले उक्त गिरोहको भूमिगत कार्यालयसम्म पहुँच पुर्याएर छापा मारेको हो ।
सो क्रममा यो गिरोहले संयुक्त राष्ट्रसंघ, नेपाल सरकारको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, बैंक तथा वित्तीय संस्थाको नक्कली स्टेटमेन्ट र नक्कली शैक्षिक प्रमाणपत्र समेत बनाउने गरेको भेटिएको छ । प्रधानमन्त्री सहभागी हुने एयरलाइन्स, विमानस्थलको अध्यागमन, बीएलएस (स्पेन भिसा एप्लिकेसन सेन्टर), भीएफस समेतमा यो गिरोहको साँठगाँठ रहेको यो गिरोहले काठमाडौंको महाराजगञ्जमा कार्यालय रहेको भनिए पनि हालसम्म कार्यालयको ठेगाना समेत गोप्य राखिएको भिजिट एब्रोड ट्राभल्समार्फत धन्दा चलाइएको थियो ।
यो कम्पनीका सञ्चालकहरु हिमाल अधिकारी र उनका आफन्त सञ्चालक हेमन्त भट्टराईले भिजिट भिसामा अमेरिका, युरोपलगायत सेन्जेन मुलुकहरु (युरोप)मा नक्कली कागजात बनाई मोटो रकम असुलेर पठाउने गरेका थिए । यो समूहले आफ्नो कार्यालय काठमाडौं महाराजगञ्ज चक्रपथ अमेरिकी दूतावासको आसपासमा र चक्रपथ नारायणगोपाल चोक एरियाको भित्री स्थानमा देखाउँदै नक्कली कागजात बनाउने गरेको थियो ।
सोलुखुम्बु, काभ्रे र तिब्बती मूलका भिक्षुहरु र मोटो रकम दिन सक्ने मानिसहरु विशेष गरी मङ्गोलियन अनुहार भएका तिब्बती मूलका, लामा, शेर्पा, काभ्रे, सोलुखुम्बु बसोबास गर्ने व्यक्तिहरुलाई यो गिरोहले युरोपियन मुलुकमा पु¥याएको छ । हाल प्रधानमन्त्री सहभागी भएको उक्त कार्यक्रमका नाममा स्पेन पुगेकाहरुको सूचीमा यो समूहको १० जनाभन्दा बढी रहेको स्रोतले जनाएको छ ।
भिजिट भिसाका लागि आवश्यक बैंक मौज्दात रकम विवरण, कम्पनी र विदेशबाट पठाइने निमन्त्रणा पत्र फोटोसपबाटै तयार पार्ने गरेको पाइएको छ । स्पेनबाट सम्पर्कमा आएकाहरुका अनुसार भिजिट एब्रोड ट्राभल्सका सञ्चालक भट्टराई र अधिकारीको सम्बन्ध कोइराला परिवारसम्म जोडिएको छ । यसअघि समेत पीडितहरुले जाहेरी दिँदा कोइराला परिवारका केही व्यक्तिले प्रहरीलाई फोन गरेर जाहेरी दर्ता गर्नबाट रोकेका थिए ।
भिजिट एब्रोड ट्राभल्सको नम्बरमा सम्पर्क गर्दा फोन उठाउने व्यक्तिले आफू हिमाल अधिकारी रहेको बताएका थिए । उनले आफूहरुको कार्यालय महाराजगञ्ज रहेको बताए । भिजिट भिसामा मानव ओसारपसार गरेको र प्रधानमन्त्रीसँगै स्पेनमा मानिसहरु पठाएको विषयमा प्रश्न गर्दा उनले यो नम्बर कसले दिएको भन्दै प्रतिप्रश्न गरे । त्यसको केही समयपछि वेभसाइट समेत बन्द गरिदिए ।
प्रहरी उच्च स्रोतका अनुसार प्रहरीले यो कम्पनीमा छापा मारेको छ । ल्यापटपलगायतका सामग्री नियन्त्रणमा लिएर अनुसन्धान जारी छ । ‘अनुसन्धानमा भएको विषय अहिले भन्न मिल्दैन । अहिले ल्याप्टपलगायत सामग्री नियन्त्रणमा लिएका छौँ,’ ती अधिकारीले भने ।
कम्पनीका सञ्चालक हिमाल अधिकारीलाई अमेरिकाले आफ्नो मुलुक प्रवेशमा प्रतिबन्ध लगाएको उनी निकट स्रोतले बताएको छ । अमेरिकी कानुन उल्लङ्घन गरी विभिन्न नक्कली कागजात तयार पारेका कारण उनी र उनकी श्रीमतीलाई समेत अमेरिकामा प्रतिबन्ध लागेको हो । त्यस्तै, दक्षिण अमेरिका र कोरियाले पनि उनको गतिविधिलाई कारण देखाउँदै प्रतिबन्ध लगाएका छन् ।
विराटनगर घर भएका अधिकारी काठमाडौंको हात्तीगौँडा बस्छन् । विगत १२ वर्षदेखि युरोप अमेरिकाका विभिन्न मुलुकमा सम्मेलन, कार्यक्रमलगायत कार्यक्रमका नाममा मानवतस्करी गर्दै आएको आरोप उनीमाथि छ ।
अधिकारीसँग जोडिएका अर्का पात्र झापा धरमपुर घर भएका ५२ वर्षीय सफराज खड्का पक्राउ परेका छन् । उनले विभिन्न गैरसरकारी संस्था, अदालत, शैक्षिक संस्था, बैंक वित्तीय संस्थाका कागजातहरु नक्कली बनाएको अनुसन्धानमा खुलेपछि ३१ असारमा उनलाई प्रहरी अनुसन्धान केन्द्रीय ब्युरो सीआईबीले नियन्त्रणमा लिएको हो ।
उनको साथबाट सीआईबीले सीटीईभीटी, उच्च माध्यमिक शिक्षा परिषद् (एचएसईबी), परीक्षा नियन्त्रण कार्यालयको होलोग्राम समेत फेला पारेको थियो । बैंकहरुको रबरस्ट्याम्प र शैक्षिक संस्थाको प्रमाणपत्र समेत बरामद भएको छ ।