काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिद्वारा गठित सौर्य जहाज दुर्घटना छानबिन उपसमितिका संयोजक राजेन्द्र पाण्डेले सौर्य एयरलाइन्सलाई खारेज गर्न माग गरेका छन् ।
राजधानीको संवाद डबलीमा शुक्रबार सौर्य एयर दुर्घटनाबाट पीडित परिवारद्वारा गठित म्याप मेमोरियल सोसाइटीले आयोजना गरेको कार्यक्रममा पाण्डेले सौर्य एयरलाइन्सको खारेजी र विमान चालकलाई हदैसम्मको कारबाही गर्न माग गरेका हुन् । बागमती प्रदेशका पूर्व–मुख्यमन्त्री समेत रहेका पाण्डेले गम्भीर लापरबाहीका कारण सौर्य एयर दुर्घटना भएको बताए । शक्तिको आडमा सौर्यका मालिक दीपक पोखरेलले चलाउनै नमिल्ने थोत्रो जहाज जबर्जस्ती चलाएको आरोप लगाए । यस्तै, उनले सो एयरलाइन्सका मालिक पोखरेल प्रधानमन्त्री केपी ओलीको संरक्षणमा रहेको समेत आरोप लगाए । उनले भने, ‘दिपक पोखरेल केपी ओलीका भित्रिया झापाली भएकाले सौर्य एयरलाई उन्मुक्ति दिन खोजिँदैछ ।’
१८ जना नागरिकको ज्यान लिएको दुर्घटनामा संलग्न दोषीउपर कारबाहीको लागि आफू नेतृत्वको समितिले पर्यटन मन्त्रालयलाई निर्देशन दिने पनि जानकारी दिए । पाण्डेले अत्यधिक लापरबाही तथा जहाज मालिकको व्यापारिक स्वार्थका कारण नेपालमा जहाज दुर्घटना हुने गरेको ठोकुवा गरे । सौर्य दुर्घटनामा गम्भीर मानवीय त्रुटि भएको ठोकुवा गर्दै पाण्डेले भने, ‘मर्मत गर्न भनिएको जहाजमा पाइलटसहित १९ जना किन बोकियो ? सौर्यसँग असम्बन्धित चार वर्षका बालक र ऊर्जा मन्त्रालयमा कार्यरत प्रिजा खतिवडालाई कर्मचारी बनाउनु हदैसम्मको अवैधानिक कार्य हो ।’ विमानभित्र अत्यधिक प्रज्वलनशील पदार्थ बोक्नु, हाल्न नहुने लोड हाल्नु, क्यानको अनुमतिविना ‘फेरि’ जहाज उडाउनु, ८ किलोमिटरसम्मको भिजिबिलिटी हुँदाहुँदै पनि दुर्घटना हुनुलाई सामान्यरूपमा लिन नमिल्ने उनले बताए ।
अधिवक्ता अर्जुन खड्काले पीडित परिवारको निरन्तर दबाबले ढिलै भए पनि रतिशचन्द्र लाल सुमनको नेतृत्वको आयोगले प्रतिवेदन सरकारलाई बुझाएको बताए । खड्काले आयोगको निष्कर्षकै आधारमा पनि नेपालको कानुनअनुसार दोषीलाई कारबाही गर्न मिल्ने प्रावधान रहेको उल्लेख गरे । जहाज दुर्घटनामा तीन सन्तति गुमाएका प्रकाश खतिवडाले दुर्घटनाका दोषीलाई कारबाही गर्न न्यायिक जाँच आयोग गठन गर्न माग गरे । आयोगले घटना भएको ४३ दिनमा सरकारलाई बुझाएको प्रारम्भिक प्रतिवेदनको निष्कर्ष र अन्तिम प्रतिवेदन निष्कर्ष तथ्यगत फरक परेकाले सो अवस्थामा गैरसैनिक हवाई उडान जाँच नियमावली २०७१ को नियम २३ बमोजिम न्यायिक जाँच आयोग गठन गर्नुपर्ने उनको माग छ ।
छानबिन समितको सदस्यसचिव मुकेश डंगोल क्याप्टेन मनीष शाक्यको आफन्त रहेकाले पनि उनले चालकलाई प्रतिवेदनमा जोगाउन खोजेको पीडित खतिवडाले आरोप छ । कार्यक्रममा दुर्घटनमा परी ज्यान गुमाएका परिवारका सदस्यहरू सहभागी थिए । २०८१ साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज धावनमार्ग नजिकै दुर्घटनाग्रस्त हुँदा जहाजमा सवार १८ जनाको मृत्यु भएको थियो । सौर्य एयरलाइन्सको ९ एन–एएमई–सीआरजे २०० कलसाइन जहाज दुर्घटना जाँच आयोगले विमानचालक (पाइलट)को लापरबाहीका कारण दुर्घटना भएको निष्कर्ष निकालेको छ ।
आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई बुझाएको प्रतिवेदनमा पाइलट र एयरलाइन्स कम्पनीको त्रुटिका कारण जहाज दुर्घटना भएको उल्लेख गरेको हो । उक्त दुर्घटनामा पाइलट मनीष शाक्य भने बाँचेका थिए । जहाज दुर्घटना भएकै दिन सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्लाल सुमन नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो । प्रतिवेदनअनुसार जहाज दुर्घटनाको कारण प्राविधिक समस्या नभई पाइलटकै त्रुटि भएको उल्लेख छ ।