काठमाडौं । दरमखोला हाइड्रो इनर्जी लिमिटेडले सर्वसाधारणलाई प्राथमिक सेयर निष्काशन (आईपीओ) गर्ने तयारी गरेको छ । पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि साधारण सेयर जारी गरी बाँडफाँट सकेसँगै कम्पनीले दोस्रो चरणमा सर्वसाधारणको लागि सेयर निष्काशन गर्न लागेको हो ।
कम्पनीले जारी पुँजी एक अर्ब तीन करोड पाँच लाख रुपैयाँको ३८ दशमलव ३३ प्रतिशत अर्थात् ३९ करोड ५० लाख रुपैयाँबराबरको ३९ लाख ५० हजार कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमध्ये १० करोड ३० लाख ५० हजार रुपैयाँबराबरको १० लाख ३० हजार पाँच सय कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि र दुई करोड ९१ लाख ९५ हजार रुपैयाँबराबरको दुई लाख ९१ हजार नौ सय ५० कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीहरूका लागि निष्काशन गरी बाँडफाँट गरेको थियो । यसबाहेक कम्पनीले आफ्ना कर्मचारीहरूका लागि ५८ हजार तीन सय ९० कित्ता र सामूहिक लगानी कोषहरूका लागि एक लाख ४५ हजार नौ सय ७५ कित्ता सेयर बाँडफाँट गरिसकेको छ ।
दोस्रो चरणमा कम्पनीले यही साउन १५ गतेबाट सर्वसाधारणको लागि २४ करोड २३ लाख १८ हजार पाँच सय रुपैयाँबराबरको प्रतिसेयर एक सय रुपैयाँ दरका २४ लाख २३ हजार एक सय ८५ कित्ता सेयर निष्काशन गर्न लागेको हो । कम्पनीका अनुसार सेयर खरिदको लागि न्यूनतम १० देखि अधिकतम ५० हजार कित्तासम्मको लागि आवेदन दिन सकिनेछ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको कम्पनीको सेयर बिक्री कार्य यही साउन १५ गतेबाट सुरु भई छिटोमा साउन १९ गते र ढिलोमा साउन २९ गते बन्द हुनेछ ।