काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरको ४२ करोड थान नयाँ नोट छाप्ने भएको छ । नोट डिजाइन, छपाइ, आपूर्ति तथा डेलिभरी गर्नका लागि बोलपत्र आह्वान गरेसँगै नोट छपाइको प्रक्रिया अगाडि बढेको हो ।
यसका लागि राष्ट्र बैंकको थापाथलीस्थित मुद्रा व्यवस्थापन विभागले पूर्वयोग्यताप्राप्त सुरक्षा छपाइकर्ताहरूबाट अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र माग गरेको छ । ‘सिंगल स्टेज टु इन्भेलोप’ प्रणालीमार्फत हुने बोलपत्रमा इच्छुक कम्पनीहरूले दुई छुट्टाछुट्टै सिलबन्दी खाममा प्राविधिक प्रस्ताव र मूल्य प्रस्ताव बुझाउनुपर्नेछ । ती दुवै खामलाई पुनः एउटै सिलबन्दी खाममा हालेर बुझाउनुपर्नेछ ।
विभागका अनुसार पूर्वयोग्यताप्राप्त बोलपत्रदाताहरूले थप जानकारी र बोलपत्र दस्तावेज विभागमा सम्पर्क गरेर पाउन सक्नेछन् । आवश्यक कागजात पेस गरी बोलपत्र दस्तावेज थापाथलीस्थित राष्ट्र बैंकको कार्यालय वा बबरमहलस्थित टकसाल डिभिजनबाट खरिद गर्न सकिन्छ । त्यस्तै, इमेलमार्फत सुरक्षित इलेक्ट्रोनिक ढंगले पनि दस्तावेज खरिद गर्न सकिनेछ । बोलपत्र खरिदको अन्तिम म्याद आगामी सेप्टेम्बर ७ को कार्यालय समयसम्म तोकिएको छ । बोलपत्र खरिद गर्न नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागको नाममा थापाथलीस्थित बैंकिङ विभागको खातामा २० हजार रुपैयाँ वा एक सय ४६ डलर वा एक सय २६ युरो वा एक सय नौ पाउन्ड स्टर्लिङ जम्मा गर्नुपर्नेछ ।