काठमाडौं । सारथि केवल इन्डस्ट्रिज लिमिटेड र सिटिजन्स क्यापिटल लिमिटेडबीच प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ)का लागि सम्झौता भएको छ ।
होटल मेरियट काठमाडौंमा यससम्बन्धी सम्झौता भएको हो । सम्झौतापत्रमा सारथि केवलका अध्यक्ष अंकित भुसाल र सिटिजन्स क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् । यसअनुुसार सारथि केवल इन्डस्ट्रिज लिमिटेडले आगामी आर्थिक वर्ष २०८२/८३मा आफ्नो जारी पुँजीको २० प्रतिशत सर्वसाधारणलाई निष्काशन गर्नेछ । यो आईपीओमार्फत नेपाली नागरिकले एक अग्रगामी र सम्भावनायुक्त उद्योगमा लगानी गर्ने उत्कृष्ट अवसर प्राप्त गर्ने कम्पनीको भनाइ छ ।
कम्पनीका अध्यक्ष भुसालले यो सम्झौता नेपालको विद्युत् पूर्वाधारलाई आधुनिकीकरणतर्फ डोहोर्याउने हाम्रो अभियानमा महत्वपूर्ण उपलब्धि भएको बताए ।
उनले भने, ‘हामी राष्ट्रिय आवश्यकतालाई ध्यानमा राख्दै आन्तरिक उत्पादनमा आधारित सशक्त प्रणाली विकास गर्दैछौँ ।’ त्यस्तै सिटिजन्स क्यापिटलका प्रमुख श्रेष्ठले सारथि केवलसँगको सहकार्य गौरवको विषय भएको बताए ।
उनले भने, ‘यो आईपीओले लगानीकर्तालाई सुगम अवसर प्रदान गर्नेछ । साथमा, देशको केवल उत्पादन क्षमतामा समेत उल्लेखनीय योगदान पुर्याउनेछ ।’
नेपालमा करिब ८३ हजार मेगावाट जलविद्युत् उत्पादनको सम्भावना रहेको पृष्ठभूमिमा सारथि केवलको भूमिका अझै महत्वपूर्ण हुने अपेक्षा गरिएको छ । १८ वर्षदेखिको अनुभव बोकेको यस कम्पनीले भविष्यमा नेपालको प्रसारण तथा वितरण प्रणालीलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ ।