काठमाडौं । एम्बार्क अनम्याथ र प्रिमियर इन्टरनेसनल स्कुलको सहकार्यमा ‘न्युमेरेसी विक २०२५’ सफलतापूर्वक सम्पन्न भएको छ ।
एक हप्तासम्म चलेको यस विशेष सप्ताहले विद्यार्थीहरूलाई अनुभवमा आधारित सिकाइमार्फत् गणित विषयलाई नयाँ दृष्टिकोणले बुझ्न प्रेरित गरेको जनाइएको छ । कार्यक्रम अवधिभर, प्रिमियर इन्टरनेसनल स्कुलका कक्षाहरू सिर्जनशीलता र अन्वेषणको केन्द्र वनेका थिए । विद्यार्थीहरूले गणितलाई आफ्नो कल्पनाशक्ति, अनुभव र संवादसँग जोड्दै नयाँ र अर्थपूर्ण तरिकामा आफूलाई संलग्न गराएका छन् ।
एम्बार्क अनम्याथका सह–संस्थापक दिवेश बठिजाले गणित विषयलाई केवल सूत्र र अभ्यासमा मात्रै सीमित नराखी, वास्तविक जीवनका अनुभव र चिन्तनमा आधारित वनाउन निरन्तर खटिरहेको बताए । ‘प्रिमियर इन्टरनेशनल स्कुलमा सम्पन्न न्युमेरेसी विक केवल उत्सव मात्र थिएन, यो गणितलाई हेर्ने, महसुस गर्ने र अनुभव गर्ने सोचमा आएको परिवर्तनको प्रतीक थियो’, उनले भने, ‘विद्यार्थीहरूले कथा वाचन, डिजाइन र संवादजस्ता गतिविधिबाट गणितलाई केवल सिकाइको माध्यम होइन, सिर्जनशीलताको उपकरणको रूपमा पुनः पहिचान गर्न सके भने न्युमेरेसी विकमा समावेश गरिएका गतिविधिहरूले विद्यार्थीहरूमा गणितप्रतिको अभिरूचि र आत्मविश्वास अझ सशक्त भएको छ ।’
न्युमेरेसी विकमा विभिन्न गतिविधिहहरू समावेश गरिएका थिए । गणित कथा वाचनमा विद्यार्थीहरूले अंक र अवधारणालाई कथामा परिणत गरेका थिए । त्यस्तै, बोर्ड गेम डिजाइन, खेल र रणनीतिमार्फत गणितीय सोचको अभ्यास तथा गणित रिले दौड, गतिशीलता र द्रूत सोचको संयोजनलगायत तत्काल गणित बोल सत्रलगायतका कार्यक्रम सञ्चालन भएका थिए । यसले विद्यार्थीहरूलाई गणितीय विचारहरूको बारेमा सहज र आत्मविश्वासका साथ बोल्न चुनौती दिएको थियो ।