काठमाडौं । धादिङको गंगाजमुना गाउँपालिका–६ बांगेपिपल, बसेराकी पार्वती कार्कीले एनसेलको एक करोड रुपैयाँको बम्पर नगद पुरस्कार जितेकी छन् । कार्कीले गत असार १ देखि ३२ गतेसम्म सञ्चालन भएको एनसेलको ‘सधैं अन करोडपति’ योजनामा उक्त रकम जितेकी हुन् ।
उनले एनसेलको सिममा असारको तेस्रो साता ९९ रुपैयाँको ‘बेसिक रिन्युअल’ प्याक किनेर योजनामा स्वतः सहभागी भएकी थिइन् । एनसेलका चिफ फाइनान्सियल अफिसर इनामुल कबिरले एनसेलको केन्द्रीय कार्यालयमा शुक्रबार आयोजित एक कार्यक्रममा कार्कीलाई बम्पर उपहारअन्तर्गतको एक करोड रुपैयाँ हस्तान्तरण गरेका थिए । बम्पर पुरस्कार बुझ्दै कार्कीले आफूले जीवनमा कहिल्यै नसोचेको उपहार प्राप्त गरेको बताइन् । एनसेलले ल्याएको उक्त योजनामा कार्कीले बम्पर नगद पुरस्कार जितेकी हुन् भने अन्य ५० जना भाग्यशाली ग्राहकहरूले साप्ताहिक पुरस्कारस्वरूप जनही एक लाख रुपैयाँ नगद पुरस्कार जितेका छन् । एनसेलले नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन बमोजिम १२ हप्ताका लागि सञ्चालनमा ल्याएको यो योजना पाँचौ हप्ताको बीचमा नै साउन १ गतेबाट बन्द गरेको थियो ।
एनसेलका चिफ फाइनान्सियल अफिसर इनामुल कबिरले विजेताहरूले पुरस्कार रकमलाई आफ्नै व्यवसाय सुरु गर्ने सपना साकार पार्न प्रयोग गर्ने विश्वास व्यक्त गरे । उपभोक्ताहरूको हितलाई ध्यानमा राखी सञ्चालन अवधिभित्रमा यस योजनामा सहभागिता जनाएका ग्राहकहरूलाई कम्पनीले प्रतिबद्धता जनाएबमोजिम विजेता घोषणा गरी पुरस्कृत गरेको हो । कार्कीसहित ३६ जनालाई नगद पुरस्कार हस्तान्तरण गरिसकिएको र बाँकी १५ जना एक लाख रुपैयाँ जित्ने ग्राहकहरूलाई पनि प्रमाणीकरणको प्रक्रिया पुर्याई पुरस्कार प्रदान गरिने एनसेलले जनाएको छ ।