मोरङ । मोरङ–सुनसरी औद्योगिक कोरिडोरअन्तर्गत रहेका औद्योगिक/व्यावसायिक प्रतिष्ठानहरूको हकहित, संरक्षण एवं संवर्द्धनका मुद्दाहरूमा साझा धारणा वनाउन यहाँका निजी क्षेत्रका संघसंस्थाहरू सहमत भएका छन् ।
मोरङ उद्योग व्यापार संघ र सुनसरी उद्योग वाणिज्य संघका पदाधिकारीहरूबीच शुक्रबार भएको छलफल कार्यक्रममा सहभागीहरूले व्यवसायीहरूको मुद्दामा साझा धारणा वनाउनुपर्नेमा जोड दिएका हुन् । कार्यक्रममा मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले मुलुकको अर्थतन्त्रको विकासका लागि दुवै संघको अगुवाईमा मोरङ–सुनसरी औद्योगिक कोरिडोरअन्तर्गत रहेका औद्योगिक/व्यावसायिक प्रतिष्ठानहरूको हकहित, संरक्षण एवं संवर्द्धनका मुद्दाहरूलाई संयुक्तरूपमा पहल गर्नुपर्ने बताए । यस्तै, संघका निवर्तमान अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नवीन रिजालले नेपालमा औद्योगिक विकासका परियोजनाहरू सुस्त रहेकाले युवाहरू विदेश पलायन भइरहेको बताए । युवाहरूलाई स्वदेश फर्काउन र जनतालाई आर्थिकरूपमा सक्षम वनाउन राज्यले विकासका परियोजनाहरू अघि बढाउन आवश्यक रहेको औँल्याउँदै उनले त्यसका लागि सबै उद्योग वाणिज्य संघहरूले संयुक्त पहल गर्नुपर्नेमा जोड दिए ।
त्यस्तै,, संघका वरिष्ठ उपाध्यक्ष अनिल कुमार साहले दुवै संघको विगतदेखिको पारस्परिक सम्वनधलाई आगामी दिनमा अझै प्रगाढ वनाउनुपर्ने बताए । साथै, मोरङ उद्योग व्यापार संघले भारतीय राजदूतावाससँगको सहकार्यमा समयसमयमा मोरङ सुनसरी आर्थिक कोरिडोरमा कार्यरत भारतीय कामदारहरूलाई दूतावासमा दर्ता गराउने कार्य गरिरहेकोमा सो कार्यका लागि सुनसरी उद्योग वाणिज्य संघलाई पनि सहकार्य गर्न आग्रह गरे । साथै, नेपाल सरकारको एमआरपी सम्वनधी हालको व्यवस्थाका लागि पनि दुवै संघले संयुक्त पहल गर्नुपर्नेमा उनले जोड दिए ।
सुनसरी उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष विजय श्रेष्ठले छिमेकी राज्य भारतले औद्योगिक क्षेत्रहरूका लागि विभिन्न योजनाहरू कार्यान्वयनमा ल्याई सफलता प्राप्त गरेको उदाहरण दिँदै नेपालले पनि औद्योगिक क्षेत्रको विकास एवं उद्योगी/व्यवसायीलाई प्रोत्साहित गर्ने खालका योजनाहरू अवलम्वन गर्नुपर्ने बताए । साथै, सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल श्रेष्ठले मुलुककै जेठो उद्योग वाणिज्य संघको रूपमा रहेको मोरङ उद्योग व्यापार संघलाई आफूहरूले अभिभावकको रूपमा हेर्ने गरेको बताए । राज्यले समेत यस संघको आवाजलाई गम्भीरतापूर्वक लिने गरेको बताउँदै उनले मोरङ सुनसरी आर्थिक कोरिडोरका उद्योगी/व्यवसायीहरूका समस्याहरू समाधानार्थ संघले चाल्ने गरेका कदमहरूमा सदैव आफ्नो ऐक्यबद्धता रहने बताए ।