दक्षिण एसिया । पाकिस्तानका विदेशमन्त्री इशाक दारले अमेरिकासँग व्यापार सम्झौताको नजिक पुगेको बताएका छन् । अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँगको भेटपछि उनले केही दिनभित्रै सम्झौता हुने उल्लेख गरेका हुन् ।
यद्यपि अमेरिकाले कहिले सम्झौता हुने टिप्पणी नगरेको एजेन्सीहरुले जनाएका छन् । ‘अमेरिकासँग सम्झौताको नजिक पुगेका छौँ । वासिङटनमा हाम्रो टोलीले छलफल गरिरहेका छन्’, उनले वासिङटनमा एटलान्टिकक काउन्सिल थिंकट्यांकसँगको छलफलपछि भने ।
महिना, हप्ताभन्दा पनि केही दिनभित्रै सम्झौता हुने उनको दाबी छ । सो भेटवार्तापछि रुबियोे र दार दुवैले महत्वपूर्ण खनिजमा सहकार्य र व्यापार विस्तारको महत्ताबारे छलफल भएको बताएका थिए ।
बंगलादेशलाई अमेरिकाले बोलायो
यसैबीच, व्यापार सम्झौताबारेको छलफलमा संयुक्त राज्य अमेरिकाबाट बंगलादेशले पनि निम्तो पाएको छ । अमेरिकाको द युनाइटेड स्टेट्स ट्रेड रिप्रिजेन्टेटिभ (यूएसटीआर)ले बंगलादेशलाई व्यापार सम्झौेताबारेको छलफलमा वासिङटन आउने निम्तो दिएको हो । योसँगै आगामी मंगलबार दुई देशबीच आपसी व्यापारबारे छलफल हुने बंगलादेशका वाणिज्य सचिव महबुर रहमानले जानकारी दिए । यसअघि चार दिनअघि बंगलादेशले अन्तिम चरणको छलफलका लागि पत्र पठाउँदै शनिबारका लागि भेट्ने प्रस्ताव गरेको थियो । तर अमेरिकाले भने जुुलाई २९ मा भेट्ने खबर दिएको बंगलादेशी मिडियाहरुले उल्लेख गरेका छन् ।