जनकपुर — सुक्खाग्रस्त घोषित मधेश प्रदेशका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लामा वर्षैभरि सिँचाइ सुविधा पुर्याउने महत्वाकांक्षी योजना सुनकोशी–मरिण डाइभर्सन राष्ट्रिय बहुउद्देश्यीय आयोजना ठेकेदार कम्पनीको लापरबाहीका कारण अलपत्र बनेको छ। १४ अर्ब ७ करोड ५९ लाख रुपैयाँको लागतमा निर्माणाधीन बाँधको काम पटेल–रमण (संयुक्त) निर्माण सेवाले पाएको भए पनि, ठेक्का सम्झौता भएको ३० महिनामा जम्मा ७ प्रतिशत मात्र कार्य सम्पन्न भएको छ। उक्त कम्पनीले १ अर्ब २० करोड रुपैयाँ पेस्की भुक्तानीसमेत लिइसकेको छ।
गत आर्थिक वर्षमा बाँध निर्माणको प्रगति मात्र १ प्रतिशत थियो। आयोजनाको समग्र भौतिक प्रगति ३५ प्रतिशत पुगेको छ भने हालको गतिमा काम भए बाँध बनाउन अझै चार वर्ष लाग्न सक्ने अनुमान गरिएको छ। यस आयोजनाबाट करिब १ लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पु-याउने लक्ष्य लिइएको छ, जसबाट २० लाख जनसङ्ख्या लाभान्वित हुने र किसानले वार्षिक १० अर्ब ३० करोड रुपैयाँ आम्दानी गर्ने प्रक्षेपण छ।
सुनकोशी गाउँपालिकास्थित कानढुङ्ग्रीमा बन्ने ३० मिटर अग्लो र १५८ मिटर लामो बाँध निर्माणपछि, पानी सुरुङमार्फत कमलामाई नगरपालिकाको कुसुमटार हुँदै मरिण खोलामा खसालिनेछ। त्यसपछि मरिण खोलाबाट बागमती ब्यारेजसम्म पुग्ने व्यवस्था मिलाइनेछ। आयोजनाले सुनकोशीबाट ६७ क्युमेक पानी पथान्तरण गरेर बागमती नदीमार्फत सिँचाइ सुनिश्चित गर्ने योजना बनाइएको छ।
यसका लागि निर्माणाधीन संरचनासँगै पुराना ब्यारेज र नहरहरूको जीर्णोद्धार गर्न आवश्यक विस्तृत परियोजना प्रतिवेदन (DPR) तयार भइसकेको छ, र चालु आर्थिक वर्षदेखि त्यसको निर्माण सुरु हुने जनाइएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले गत जेठ १८ गते जनकपुरमा आयोजित कार्यक्रममा, निर्धारित समयमै काम नगरे ठेक्का तोडिने चेतावनी दिँदै, "अब मधेशका जनताले जमिन बाँझो राख्न सक्दैनन्" भनेका थिए। प्रधानमन्त्रीले २०७७ फागुन २० गते आयोजना शिलान्यास गर्नुभएको थियो। आयोजनाको लक्ष्य २०८४ असोजभित्र सम्पन्न गर्ने छ।