चितवन ,चनौली क्षेत्रमा देखिएको विद्युत आपूर्ति समस्याको समाधान नेपाल विद्युत प्राधिकरण (नेविप्रा) को उच्च तहबाट भएको सक्रिय पहलपछि सम्भव भएको छ।नेविप्राको वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक दिर्घायु कुमार श्रेष्ठ आइतबार बिहानैदेखि चनौली वितरण केन्द्रअन्तर्गतको साइटमा खटिएर समस्या पहिचान र समाधानमा जुटेका थिए। उहाँको प्रत्यक्ष निरीक्षण र निर्देशनमा सवस्टेसनमा आवश्यक सुधार तथा क्षमता विस्तारको कार्य तत्कालै सम्पन्न गरिएको हो।
नेपाल विद्युत प्राधिकरण चनौली वितरण केन्द्रका अनुसार आइतबार साँझदेखि क्षेत्रको विद्युत सेवा नियमित रूपमा पुनः सञ्चालनमा आइसकेको छ।हालै चनौली क्षेत्रमा लोडसेडिङसम्बन्धी फैलिएका आधारहीन हल्लाप्रति प्राधिकरणले गम्भीर ध्यानाकर्षण गराउँदै उपभोक्ताहरूलाई भ्रममा नपर्न आग्रह गरेको छ।
प्राधिकरणले प्रमाणिक सूचना मात्रमा विश्वास गर्न र कुनै पनि समस्या देखिएमा नजिकको वितरण केन्द्र वा ग्राहक सेवा कक्षमा सम्पर्क गर्न आग्रह गर्दै जिम्मेवार सूचनाको आदान–प्रदानमा सहकार्य गर्न उपभोक्तासमक्ष अनुरोध गरेको छ।