काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप राख्ने भएको छ । केन्द्रीय बैंकको उपदान तथा पेन्सन कोषमा रहेको एक अर्ब रुपैयाँ निक्षेपस्वरूप ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुमा लगानी गर्ने प्रस्ताव गरेको हो ।
यसका लागि आइतबार सूचना जारी गरिएको थियो । यसअनुसार रकम लगानीका लागि सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुले यही साउन १३ गतेसम्म आफ्नो संस्थाले संस्थागत निक्षेपको रुपमा राख्न चाहेको रकम र दिन चाहेको ब्याज समेत तोकेर प्रस्ताव पेस गर्नुपर्नेछ । यसरी राखिने रकमको अवधि तीन सय ६६ दिन अर्थात् २०८२ साउन १८ गतेदेखि २०८३ साउन १८ गतेसम्म रहेको छ ।
लगानीको लागि छुट्याइएको कुुल रकममध्येमा वाणिज्य बैंकहरुको लागि ८० करोड, विकास बैंकहरुको लागि १५ करोड र फाइनान्स कम्पनीहरुको लागि पाँच करोड रुपैयाँ छुट्याइएको छ । रकम लगानीका लागि प्रस्ताव पेस गर्ने बैंक तथा वित्तीय संस्थाहरु सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा गरेको हुनुपर्नेछ ।
यीबाहेक तोकिएको न्यूनतम कुल पुँजीकोष (बफरसहित) कायम रहेको, निष्क्रिय कर्जा (एनपीए) कुल कर्जा सापटको आठ प्रतिशतभन्दा कम भएको, खुद निष्क्रिय कर्जा तीन प्रतिशत ननाघेको, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी रहेको हुुनुुपर्ने प्रावधानहरु तोकिएका छन् ।
कर्जा तथा स्वदेशी निक्षेप र प्राथमिक पुँजी अनुपात यस बैंकले निर्धारण गरेको सीमाभित्र रहेको, सर्वसाधारणका लागि छुट्याइएको सेयर जारी गरिसकेको, निकटतम अघिल्लो आवमा सञ्चालन मुनाफामा रहेको हुनुपर्नेछ ।
त्यसैगरी, लगानी गरिने बैंकको कुनै पनि सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालकलाई राष्ट्र बैंकले जरिबाना गरेको अवस्थामा त्यस्तो जरिबाना गरिएका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालक बैंकमा नरहेको हुनुपर्ने पनि सूचनामा उल्लेख छ ।
यदि शीघ्र सुधारात्मक कारबाहीमा परेको भए फुकुवा भएको कम्तीमा छ महिना पूरा भएको, लगानी गरिने बैंक नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ बमोजिमको कारबाहीमा परी समस्याग्रस्त घोषणा नभएको तथा समस्याग्रस्त घोषणा भएकोमा सो फुकुवा भएको छ महिना अवधि पूरा भएको एवं रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमाभन्दा बढी नभएको हुनुपर्ने प्रावधानहरु तोकिएका छन् ।