काठमाडौं । ११ महिनापछि सेयरबजारले बौरिएको संकेत गरेको छ । बजार परिसूचक नेप्से २९६४ दशमलव २० विन्दुमा पुगेको दिन कारोबार रकमले पनि २६ अर्ब पार गरेको हो । झण्डै एक वर्ष पूरा हुनै लाग्दा उच्च कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
यसअघि गत वर्ष साउन ३१ गते नेप्से ३००० दशमलव ८१ विन्दुमा पुगेको दिन बजारमा २९ अर्ब ९५ करोड रुपैयाँबराबरको सेयर किनबेच भएको थियो । आइतबार भएको कारोबार रकम त्यसयताकै ठूलो हो ।
चालू आर्थिक वर्षको मौद्रिक नीतिले सेयर धितो कर्जाको व्यक्तिगततर्फको सीमा बढाएर १५ करोडबाट २५ करोड बनाएको थियो । यसले लामो समयदेखि असन्तुष्ट लगानीकर्तालाई सेयरबजारमा लगानी गर्न थप हौस्याउँदा दैनिक कारोबार रकमको आकार बढ्दै गएको छ भने नेप्सेले पनि उचाइ लिइरहेको छ । यसबाहेक अर्थतन्त्रमा समेत सुधार हुँदै गएका तथ्याङ्कहरु सार्वजनिक भइरहेका छन् । बढ्दो निर्यात, सीमाभित्र रहेको मूल्यवृद्धि, निर्यातमा बढोत्तरी, बढ्दो विदेशी मुद्रा सञ्चिति, शोधनान्तर अवस्था बचत हुनुजस्ता सकारात्मक सूचकहरुले आर्थिक गतिविधि चलायमान भएकाले लगानीकर्ताको आत्मविश्वास बढिरहेकोले सेयरबजारमा सुधार आइरहेको देखिएको छ ।
११ महिनायताकै ठूलो कारोबार भएको दिन आइतबार नेप्से परिसूचक भने १८ दशमलव ४४ अंकले ओरालो लागेर २९ सय ६४ दशमलव २० विन्दुमा खुम्चिएको हो । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव २६ अंकले ओरालो लागेर पाँच सय १३ दशमलव ८७ विन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा यस दिन तीन सय २३ वटा कम्पनीहरूको दुई लाख तीन हजार छ सय ५८ पटकको कारोबारमा पाँच करोड ८६ लाख ५३ हजार सात सय ६२ कित्ता सेयर खरिद बिक्री भएका छन् । यस दिन १३ वटा उपसमूहहरूको सेयर कारोबार भएका छन् । जसमध्ये विकास बैंक, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष र व्यापार उपसमूहको सूचक उकालो लागेका छन् । यीबाहेकका वाणिज्य बैंक, फाइनान्स, होटल तथा पर्यटन, जलविद्युत्, लगानी, जीवन बीमा, निर्जीवन बीमा र अन्य उपसमूहको सूचक भने ओरालो लागेका छन् । यसदिन कारोबार भएकामध्ये वाणिज्य बैंक उपसमूहको सूचक ११ दशमलव १३ अंकले ओरालो लागेर १५ सय ३६ दशमलव ८२ विन्दुमा खुम्चिँदा फाइनान्स उपसमूहको सूचक पनि ५३ दशमलव ७२ अंकले ओरालो लागेर २६ सय ४४ दमलव ६९ विन्दुमा खुम्चिएको छ ।
जलविद्युत् उपसमूहको सूचक पनि ४३ दशमलव २२ अंकले ओरालो लागेर तीन हजार आठ सय ९८ दशमलव ७३ विन्दुमा खुम्चिँदा जीवन बीमा उपसमूहको सूचक पनि एक सय ९५ दशमलव २३ अंकले ओरालो लागेर १४ हजार एक सय ९३ दशमलव ३८ विन्दुमा खुम्चिएको छ । निर्जीवन बीमा उपसमूहको सूचक पनि ९१ दशमलव ९२ अंकले ओरालो लागेर १३ हजार चार सय ५० दशमलव ७२ विन्दुमा खुम्चिदा होटल तथा पर्यटन, लगानी र अन्य उपसमुहको सुचक पनि क्रमशः एक सय ३३ दशमलव २३, दुई दशमलव शुन्य तीन र २३ दशमलव ६२ विन्दुले खुम्चिएका छन् । यसदिन बिकास बैंक उपसमुहको सुचक भने ७७ दशमलव ६४ अंकले उकालो लागेर छ हजार तीन सय ६३ दशमलव ६६ विन्दुमा चढेकोमा उत्पादनमुलक उपसमुहको सुचक पनि ८४ दशमलव ७७ अंकले उकालो लागेर सात हजार नौं सय ३३ दशमलव ९० विन्दुमा चढेको छ । लघुवित्त, सामुहिक लगानी कोष र व्यापार उपसमुहको सुचक पनि यसदिन क्रमशः शुन्य दशमलव ३७, शुन्य दशमलव शुन्य आठ र ६१ दशमलव ७४ विन्दुले उकालो लागेका छन् ।
यसदिन समता घरेलु लघुवित्त वित्तीय संस्था र ट्रेड टावर लिमिटेडको सेयर मुल्यमा पोजेटिभ सर्किट लाग्दा नारायणी डेभलपमेन्ट बैंकको प्रतिकित्ता सेयर मुल्य छ दमलव ३४ प्रतिशतले घटेको छ । यसैगरी एनआईसी एशिया बैंकको ऋणपत्र २०८६, राप्ती हाईड्रो एण्ड जनरल कन्सट्रक्न लिमिटेड आदिको सेयर मुल्यमा पनि गिरावट आएको छ । यसदिन सबैभन्दा बढी रकम कारोबार गर्नै कम्पनीको सुचीमा पहिलो स्थानमा पर्न सफल भएको शिवम सिमेन्टको प्रतिकित्ता छ सय ६७ रुपैंयाँमा एक अर्ब एक अर्ब दुई करोड तीन लाख ३५ हजार नौं सय २३ रुपैंयाँको सेयर कारोबार भएको छ । ङादी ग्रुप पावर लिमिटेड र नेपाल पुर्नबीमा कम्पनीको पनि यसदिन क्रमशः ८८ करोड ९० लाख ६१ हजार छ सय ४५ रुपैयाँ र ८५ करोड दुई लाख १४ हजार एक सय ४५ रुपैंयाँ बराबरको सेयर किनबेच भएको छ ।