काठमाडौं । मुलुकमा राजनीतिक आन्दोलनदेखि पूर्वाधार विकासको अगुवाइ गर्ने नेपाली कांग्रेसको मुख्यालय सानेपामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिलाई केन्द्रमा राखेर विशेष छलफलको आयोजना गरिएको छ ।
कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागले आयोजना गरेको ‘नेपालको विकासका लागि कृत्रिम बुद्धिमत्ताः एक समग्र दृष्टिकोण’ शीर्षकसहितको एक दिवसीय अन्तरक्रिया कार्यक्रममा एआईको सदुपयोग, सम्भाव्यता, नीति निर्माण र उत्तरदायी नेतृत्वबारे गहन विमर्श गरिएको हो । कार्यक्रमको उद्घाटन नै एआईको प्रयोगमार्फत् गरिएको थियो । कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मोबाइलमा एआई फङ्सन क्लिक गरेर बत्तीबाली कार्यक्रमको औपचारिक शुभारम्भ गरेका थिए । कार्यक्रममा सभापति देउवाले एक क्लिकमा सेवा प्रवाह सम्भव बनाउने क्षमतासहितको एआई प्रविधिलाई यदि सही ढंगले प्रयोग गरिएमा यसले विकासको गतिमा अभूतपूर्व तीव्रता ल्याउने बताए । उनले जनतालाई केन्द्रमा राख्दै डिजिटल नेपाल निर्माण गर्नुपर्ने समय आएको बताए ।
कार्यक्रममा कांग्रेस प्रविधि विभागकी संयोजक सुशीला मिश्राले अब एआई हाम्रो विकास यात्राको सशक्त सहयात्री हुन सक्ने बताइन् । तर यसका जोखिमहरूलाई समेत ध्यानमा राख्दै रणनीतिक नीति निर्माण आवश्यक अनिवार्य रहेकोमा उनले जोड दिइन् । एआई एसोसिएसन नेपालका उपाध्यक्ष सुरेश पोखरेलले एआईप्रतिको अज्ञानी भयलाई चिर्दै तथ्यमा आधारित दृष्टिकोण अपनाउन आग्रह गरे । उनले भने, ‘बिजुली बत्तीलाई पनि एक समय विनाशकारी शक्तिको रूपमा हेरिएको थियो । अहिले एआईप्रति पनि त्यस्तै डर फैलिएको छ । तर छिमेकी भारतले यस क्षेत्रमा गरिरहेका प्रगतिशील कामहरूबाट हामीले सिक्न सक्छौँ ।’ उनले डेटा इकोसिस्टम, पूर्वाधार, ऊर्जा, एल्गोरिदम, नवप्रवर्तन, जनशक्ति निर्माण र स्पष्ट नीतिगत सोचमार्फत नेपालले पनि आफ्नै एआई खाका तयार गर्न सक्ने बताए ।
कार्यक्रममा डिजिटल नेपालको विकास यात्राबारे तयार गरिएको भिडियो प्रस्तुति पनि गरिएको थियो । यस्तै, ‘के नेपाल एआईका लागि तयार छ ? नैतिक र समावेशी नेतृत्वका आधार निर्माण कसरी गर्न सकिन्छ ?’ भन्ने शीर्षकमा प्यानल छलफल गरिएको थियो । छलफल सत्रमा टुटलका संस्थापक इञ्जिनियर शिक्षित भट्टले नेपालमा एआईको पूर्वाधार, नीतिगत तयारी र अवसरहरूको समग्र मूल्याङ्कन रिपोर्टबारे जानकारी गराएका थिए । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव आदेश खड्का, प्राध्यापक डा. सुदन झा, ई–गभर्नेन्स आयोगका प्रमुख कार्यकारी दिपेश विष्ट, डेटा ड्रिभन गभर्नेन्स विज्ञ सजना महर्जनले एआई केवल प्रविधि मात्र बुझ्न नहुने धारणा राखे । यसका लागि राजनीतिक तहबाट स्पष्ट सोच र दीर्घकालीन दृष्टिकोण आवश्यक रहेकोमा उनीहरुले जोड दिए ।
प्यानल सेसनको अध्यक्षता गरेका कांग्रेस केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले एआई विकासको दिशा अनिवार्य हुँदै गएको बताए । तर यसलाई समावेशी र उत्तरदायी नेतृत्वसँग गाँस्ने चुनौती पनि उत्तिकै ठूलो रहेकोले कांग्रेस अब यस्ता विमर्शमा पनि नेतृत्व गर्न तयार रहेको उल्लेख गरे । नेपाली कांग्रेसले यसबारे थप अध्ययन, छलफल र नीतिगत हस्तक्षेपका कार्यक्रमहरू आगामी दिनमा पनि सञ्चालन गर्ने जनाएको छ ।