शिक्षाले हरेक बालकप्रति दोहोरो उत्तरदायित्व निर्वाह गर्नुपर्दछ । प्रथमतः बालकको व्यक्तित्व विकास गर्नु र दोस्रो बालकलाई समाजको सदस्यताको लागि तालिम दिनु शिक्षाका कार्य हुन् । शिक्षाको द्वैध कार्यले के कुरा इङ्गित गर्छ भने हरेक बालकले जीवनमा द्वैध भूमिका निर्वाह गर्नुपर्ने हुन्छ– पहिलो व्यक्तिको रूपमा र दोस्रो समाजको सदस्यको रूपमा । त्यस्तै प्रत्यके व्यक्तिको विभिन्न समूह, संघ, संस्था र समुदायहरूप्रति भिन्नभिन्न उत्तरदायित्व हुन्छ । समाजशास्त्रीय दृष्टिकोणअनुसार बालकको विकास समाज र संस्कृतिको सापेक्षतामा हुँदै जान्छ । बालक सामाजिक समूहको अलग र भिन्न व्यक्तिको रूपमा बढ्न सक्दैन । विकासको प्रत्येक अवस्थामा बालक र उसको सामाजिक तथा भौतिक वातावरणबीच अन्तरक्रिया हुन्छ । विद्वानले आफ्नो अध्ययनमा यसरी व्याख्या गरेका छन् कि, ‘एउटा धनी परिवार केटाकेटी छ जना छन्, बिरामी सधैं पर्छन्, औषधि र सरसफाइका वास्ता छैन । छोरीलाई स्कुल पढाइँदैन र त्यो परिवारकी आमा निरक्षर छन् । त्यस्तै अर्को परिवार सानो परिवार तर गरिब आमा ५ कक्षासम्म पढेकी केटाकेटी सबै स्कुल जान्छन् स्वस्थ हुन्छ । यो अध्ययनको मुख्य आशय धनभन्दा पनि आमाको शिक्षा परिवार सुखी बनाउनमा रहेको हुन्छ । पहिलो परिवार धनी भएर पनि दुःखी छ तर दोस्रो परिवार गरीब भएर पनि सुखी देखिन्छ । यसरी विद्वानहरूले आमाको शिक्षाको महत्वमा जोड दिँदै आफ्नो व्यथा टुंग्याउँछन् ।
शिक्षकले आफ्नो प्रयास र श्रम दिइएको दिइएको विषयवस्तु शिक्षण गर्न मात्र लगाएको हुँदैन । बालबालिकाको व्यवहारमा वाञ्छित परिवर्तन ल्याउनु उसको मुख्य आकांक्षा रहेको हुन्छ । शिक्षकका आकांक्षाहरू बालबालिकाका व्यक्तित्व विकाससित सम्बन्धित हुन्छन् । शिक्षकले आफ्नो शिक्षणसँगसँगै बालकको निमित्त आवश्यक मानवीय व्यवहार प्रदान गरिहेको हुन्छ । हरेक आमाबाबुले आफ्ना सन्तानहरूलाई संस्कृतिको महत्वपूर्ण साधन–जस्तै–भाषा, सांस्कृतिक नियम, जीवनपद्धति आदि सिकाउँछन्, जुन कुराले बालकको व्यवहारमा प्रभाव पारिरहेका हुन्छन् । बालबालिकाहरू एक–अर्काबाट, रेडियो, अखबार आदिबाट पनि कैयन् कुरा सिक्तछन् ।
शिक्षाको अधिकारलाई विश्वव्यापीरूपमा सबैभन्दा बढी स्वीकार गरिएको ५० वर्षअघिको मानव अधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्रदेखि सन् १९८९को बाल अधिकारसम्बन्धी महासन्धिसम्मका अन्तर्राष्ट्रिय दस्ताबेजहरूले प्रत्याभूति गरेका छन् । शिक्षाको अधिकार उपभोग गर्न नपाएका मानिसहरूमा उत्पादनशील काम गर्ने क्षमता हुँदैन । यिनीहरू आफ्नो र आफ्नो परिवारको संरक्षण गर्न नसक्ने हुन्छन् । स्वास्थ्य, सरसफाइ र पोषणको महत्व बुझेका मानिसहरूले आफ्नो परिवारलाई रोकथाम गर्न सकिने रोगहरूबाट बचाउन सक्छन् साथै उनीहरूको आर्थिक उत्पादकत्वमा वृद्धि हुनुका साथै आर्थिक तथा सामाजिक स्थिरता पनि कायम हुन्छन् ।बालिकाको प्राथमिक भर्ना दरमा १० प्रतिशत विन्दुले वृद्धि गर्न सकियो भने शिशु मृत्युदर प्रति हजार ४.१ का दरले घटाउन सकिन्छ भने बालिकाको माध्यामिक भर्ना त्यही दरमा बढाउन सकेको खण्डमा मृत्युदरलाई प्रतिहजार थप ५.६ का दरले घटाउन सकिन्छ । सामाजिक स्तरमा हेर्ने हो भने शिक्षाको अधिकार नपाएको खण्डमा प्रजातन्त्र र सामाजिक प्रगतिमा बाधा पुग्छ र यो कुरा विस्तारित भयो भने यसले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षालाई नै खलबलाउँछ । निरक्षरताले बालबालिकाहरूको विकासलाई अवरुद्ध पार्छ, फलस्वरूप त्यस्ता बालबालिका ठूलो भएपछि शान्ति, सहिष्णुता लैङ्गिक समानता जस्ता कुराहरू नबुझ्ने हुन पुग्दछन् ।
सन् १९९५मा संयुक्त राष्ट्र संघको तत्वावधानमा बेइजिङमा भएको महिला सम्बन्धी चौथो अन्तर्राष्ट्रिय विश्व सम्मेलनले नारीलाई पुरुषसरह शिक्षाका साथै राज्यका सबै क्षेत्रमा समान अवसर प्राप्त हुनुपर्छ भन्ने कुरामा ध्यानाकर्षण भएको थियो । यसको प्रतिवेदनमा भनिएको छ, ‘शिक्षा प्राप्त गर्नु प्रत्येक नागरिकको जन्मसिद्ध अधिकार हो र यो समानता, विकास र शान्ति प्राप्त गर्ने प्रभावकारी माध्यम हो । विना भेदभाव दिइने शिक्षा केटा र केटी दुबैका लागि फाइदाजनक हुन्छ र यसले पुरुष र महिलाबीच बराबरीको सम्बन्ध राख्न योगदान पुर्याउँछ ।
महिलालाई शिक्षाको समान अवसर प्रदान गरी शैक्षिक योग्यता हासिल गराउन सकिएमा उनीहरू समाजमा परिवर्तनका बाहक बन्न सक्छन् ।
शिक्षाले काम नगर्ने जनसंख्याको ठाउँमा काम गर्ने जनसंख्याको अनुपात बढाउँछ । श्रम गतिशीलता तथा रोजगारीको दर बढाउँछ । श्रम शक्तिमा मानिसको प्रतिशत बढाउँछ र उत्पादन वृद्धि गर्दछ । राम्रो श्रमको प्रयोगमा शिक्षाले अत्यन्त महत्वपूर्ण भूमिका खेल्छ । शिक्षाले श्रमको गुणस्तरमा सुधार ल्याउछ । शिक्षाले राम्रो काम गर्ने बानी, अनुशासन, बढी श्रम प्रयत्न तथा बढी भरपर्दोपन र सुधारिएको सीप, काम गर्ने आवश्यकताहरूको राम्रो जानकारी तथा बढ्दो दक्षता प्रदान गर्दछ । शिक्षाले मानिसको काम गर्ने तत्परतामा प्रभाव पार्दछ । श्रमशक्तिको सहभागिता तथा रोजगारीमा ठूलो असर पार्दछ ।
नेपालको संविधान, २०७२को भाग ४ को राज्यको निर्देशक सिद्धान्त, नीति तथा दायित्व अन्तर्गत (ज) नं. मा नागरिकका आधारभूत आवश्यकतासम्बन्धी नीति : (१) शिक्षालाई वैज्ञानिक, प्राविधिक, व्यावसायिक, सीपमूलक, रोजगारमूलक एवं जनमुखी बनाउँदै सक्षम, प्रतिस्पर्धी, नैतिक एवं राष्ट्रिय हितप्रति समर्पित जनशक्ति तयार गर्ने, (२) शिक्षा क्षेत्रमा राज्यको लगानी अभिवृद्धि गर्दै शिक्षामा भएको निजी क्षेत्रको लगानीलाई नियमन र व्यवस्थापन गरी सेवामूलक बनाउने, (३) उच्च शिक्षालाई सहज, गुणस्तरीय र पहुँच योग्य बनाई क्रमशः निःशुल्क बनाउँदै लैजाने, (४) नागरिकको व्यक्तित्व विकासका लागि सामुदायिक सूचना केन्द्र र पुस्तकालयको स्थापना र प्रवर्धन गर्ने आदि जस्ता शिक्षा नीति राखिएको छ ।
राज्यको शिक्षा नीति, युगानुकूल पाठ्यक्रम, दक्ष र सक्षम शिक्षकद्धारा शिक्षण सिकाइ, सुविधायुक्त भौतिक पूर्वाधार एवं प्रभावकारी अनुगमन मूल्यांकनजस्ता पक्ष गुणस्तरीय शिक्षाका अवयवहरू हुन् । भनिन्छ, मुलुकको विकासमा अवरोध गर्न, सांस्कृतिक धरोहरलाई नस्ट पार्न, मुलुकलाई औपनिवेशिक बनाउन अरु केही गर्नुपर्दैन देशको शिक्षा नीतिलाई कमजोर बनाइदिए पुग्दछ । दूरदृष्टियुक्त शिक्षा नीतिले नै योग्य सक्षम तथा असल नागरिक तयार पार्न सक्दछ । दार्शनिक प्लेटो भन्दछन् अशल शिक्षाले व्यक्तिको भावी दिशानिर्देश गरेको हुन्छ । व्यक्ति समाजको सदस्य हो । असल व्यक्तिको समूहले असल समाज बन्दछ । असल समाजले सिंगो देशलार्य सुसंस्कृत र समृद्ध बनाउँछ । समय परिवर्तनको वाहक हो । यो निरन्तर गतिशील रहन्छ । समयजस्तै पाठ्यक्रमको विकास, परिमार्जन तथा अध्यावधिक गर्ने कार्य पनि निरन्तर गतिशील हुनुपर्दछ । पाठ्यक्रमले शिक्षालाई उद्देश्यमूलक, व्यावहारिक, समसामयिक एवं स्तरीय बनाउन मार्गनिर्देश गर्दछ । विश्वमा द्रुततररूपमा विकास भएको प्रविधि, मानव चेतनास्तरमा बृद्धि भई आर्जन गरेको ज्ञानको भण्डार, समाजमा भएको सामाजिक, आर्थिक तथा राजनीतिक परिवर्तनसँग आजका बालबालिकाहरू समायोजित हुनुपर्ने हुन्छ । पाठ्यक्रमले यिनै परिवर्तनलाई अंगीकार गरी बालबालिकामा सोहीअनुसारको सक्षमताको विकास गर्न सक्नुपर्दछ । पाठ्यक्रमले निर्धारण गरेका सिकाइ उपलब्धिहरूलाई व्यक्तिको जीवन पद्धतिसँग आबद्ध गरी सफल मानव जीवन बनाउन सक्नु गुणस्तरीय पाठ्यक्रमको ध्येय हुनुपर्दछ ।
गुणस्तरीय शिक्षाका लागि अभिभावक तथा विद्यार्थीको भूमिका पनि महत्वपूर्ण रहन्छ । अभिभावकले बालबालिकाका लागि उचित पालनपोषण गर्नुपर्ने, स्वास्थ्य अवस्थाको ख्याल गर्नुपर्ने, पारिवारिक वातावरण बालमैत्री बनाउने गर्नुपर्दछ । बालबालिकाका लागि शैक्षिक सामग्री जुटाइदिने, सिकाइका लागि हौसला प्रदान गर्ने गर्नुपर्दछ । सिकाइका लागि बालबालिकाको शारीरिक, मानसिक, संवेगात्मक तथा सामाजिक विकासले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । हाम्रा अभिभावकमा व्याप्त गरिबी, अशिक्षा, चेतनाको स्तर कमजोर भएका कारण बालबालिकाको सर्वांगिण विकासमा ठोस योगदान पुर्याउन सकिरहेका छैनन् । राज्यले गुणस्तरीय शिक्षाको अपेक्षा गर्दा अभिभावकको आयस्तर उकास्ने नीति तथा कार्यक्रममा ध्यान दिनुपर्ने हुन्छ । अभिभावक शिक्षामा समेत जोड दिनुपर्ने हुन्छ । गुणस्तरीय शिक्षाका सन्दर्भमा बालबालिका स्वयं जानकार नहुन सक्छन् । (लेखक अधिवक्ता तथा अवकाशप्राप्त सहप्राध्यापक एवं अर्थशास्त्र हुन् ।)