काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले आव २०८१/८२मा उत्कृष्ट व्यवसाय गर्न सफल अभिकर्ताहरूलाई पुरस्कृत गर्नुका साथै प्रदेशस्तरीय प्रोत्साहनको कार्यक्रम स्टार एजेन्सी मिट २०८२ सम्पन्न गरेको छ ।
बनेपा, चाबहिल, कौशलटार र पाटनका अभिकर्तामध्ये प्रथम बीमाशुल्क संकलन, बीमालेख संख्या र टिम व्यवसाय विधामा उत्कृष्ट तीनभित्र पर्न सफल स्टार एजेन्सीहरूलाई विशेष सम्मान गरिएको हो । कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत निराजन कँडेलले जीवन बीमा व्यवसायमा बीमा सल्लाहकारहरूको महत्व र अपरिहार्यताबारे बताउँदै कार्यक्रमबाट सिकेका कुराहरूलाई व्यवहारमा उतारेर यस वर्ष कम्पनीलाई अझै नयाँ उचाइमा पुर्याउनुपर्ने उल्लेख गरे । साथै कम्पनीले आव २०८१/८२मा सात सय करोडभन्दा बढीको बीमाशुल्क संकलन गर्न सफल भएकोमा अभिकर्ताहरूलाई धन्यवाद दिए ।
कम्पनीका प्रमुख व्यवसाय अधिकृतहरूले अभिकर्ताहरूलाई आवश्यक सीप र कलाबारे प्रस्ट पारेका थिए । कार्यक्रममा क्षेत्रीय प्रबन्धक, एरिया म्यानेजर र शाखा प्रमुखसहित सात सयभन्दा बढी अभिकर्ताहरूको उपस्थिति थियो ।
त्यस्तै कौशलटार रिजनका उत्कृष्ट एजेन्सी म्यानेजर नमिता न्यौपाने, चाबहिल रिजनका रणबहादुर तामाङ, बनेपाका नारायण बहादुर गुरुङ र पाटन रिजनका योगेन्द्र महर्जनले आफूहरू उत्कृष्ट १ मा पर्न गरेको मिहिनेतको चर्चा गर्दै यस वर्ष पनि उक्त पदलाई यथावत् राख्ने लक्ष्य रहेको र त्यसैअनुरुप योजनासहित काममा परिचालित भएको बताए । कार्यक्रमलाई ज्ञानवर्द्धक बनाउन नेपालका प्रख्यात स्पिकर सुदिप बस्नेतलाई आमन्त्रित गरिएको थियो । उनले बिक्री कलाको लागि अति उपयोगी बानीको आवश्यकता र महत्वबारे चर्चा गरेका थिए ।