काठमाडौँ — लगातारको भारी वर्षाका कारण देशका प्रमुख राजमार्गहरूमा आवागमनमा गम्भीर असर पुगेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार आइतबार रातिदेखिको अबिरल वर्षाले देशभर आठ वटा मुख्य राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केही सडक खण्डमा एकतर्फी मात्र सवारी सञ्चालन भइरहेको छ। पूर्ण रूपमा अवरुद्ध राजमार्गहरूमा संखुवासभाको भोटखोला गाउँपालिका हुँदै जाने कोशी राजमार्ग, रसुवाको गोसाइँकुण्ड गाउँपालिका नजिकको नेपाल–चीन नाका जोड्ने पुल, पासाङ ल्हामु राजमार्ग, सिन्धुपाल्चोकको अरनिको राजमार्ग र नुवाकोटको शिवपुरी खण्डअन्तर्गतको मध्यपहाडी राजमार्ग परेका छन्। त्यस्तै, रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको भेरी करिडोर, हुम्लाको सिमकोटस्थित कर्णाली करिडोर र जाजरकोटका छेडगाड नगरपालिका खण्डको मध्यपहाडी राजमार्ग पनि पूर्ण रूपमा बन्द भएका छन्।यसैबीच, काठमाडौँ–नुवाकोट सडकखण्ड, बाग्लुङ र नवलपरासीको कालिगण्डकी करिडोर, मुस्ताङको बेनी–जोमसोम सडक र रोल्पाको सहिद राजमार्ग भने आंशिक रूपमा सञ्चालनमा रहेको प्रहरीको भनाइ छ। प्रहरीले यात्रुहरूलाई अत्यावश्यक नपरी यात्रा नगर्न र वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ। साथै, सम्बन्धित निकायहरूले अवरुद्ध सडक खोल्ने प्रयास जारी राखेको जनाएको छ।