काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले सवारी साधनमा अत्यधिक भारवहन (ओभरलोड) नियन्त्रण गर्न ट्राफिक प्रहरी र नेपाल प्रहरीलाई प्रभावकारी निर्देशन दिन आग्रह गरेको छ ।
महासंघका अध्यक्ष हिरालाल श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले प्रहरी महानिरीक्षक दिपक थापालाई भेटी सो आग्रह गरेको हो । महासंघका महासचिव राजेन्द्रविक्रम बानियाँका अनुसार सवारी तथा यातायातसम्बन्धी ऐन, नियम र ‘मालवाहक सवारीको भारवहन नियमनसम्बन्धी निर्देशिका २०७४’ को प्रभावकारी कार्यान्वयन हुन नसक्दा ओभरलोड प्रवृत्ति बढिरहेको छ । ‘स्वदेशी तथा विदेशी ट्रकहरूले लोड सिटविना तोकिएकोभन्दा बढी भार बोक्ने र सामान्य जरिवाना तिरेर सवारी सञ्चालन गर्ने प्रवृत्तिले कानुनको सम्मान हुँदैन,’ बानियाँले भने ।
महासंघले महानिरीक्षक थापालाई बुझाएको ज्ञापनपत्रमा ट्राफिक प्रहरीले चेकजाँच गरिरहे पनि न्यून जरिवानाका कारण समस्या समाधान नभएको उल्लेख गरिएको छ । महासंघले ओभरलोड गर्ने ट्रकलाई यातायात कार्यालयमा चलान गर्न वा निर्देशिकाअनुसार सामान अनलोड गराई भार मिलान गर्न कडाइका साथ व्यवस्था गर्नुपर्ने माग राखेको छ । महासंघले हालै सञ्चालनमा ल्याएको ‘भारवहन नियमन सफ्टवेयर’लाई प्रभावकारी बनाउन ट्राफिक प्रहरीको सहकार्य आवश्यक रहेको पनि जनाएको छ । भेटमा प्रहरी महानिरीक्षक थापाले ओभरलोड समस्या गम्भीर भएको स्वीकार गर्दै यस विषयमा आवश्यक कदम चालिने प्रतिबद्धता जनाएका थिए ।
उनले भने, ‘यातायात प्रणालीलाई सुरक्षित, व्यवस्थित र कानुनअनुसार बनाउने हाम्रो लक्ष्य हो । महासंघको चासो जायज छ, ट्राफिक प्रहरीलाई आवश्यक निर्देशन दिइनेछ ।’ महासंघले प्रहरी महानिरीक्षकमार्फत सातै प्रदेशका प्रहरी प्रमुख तथा ट्राफिक प्रहरीलाई निर्देशन दिन विशेष आग्रह गरेको छ ।