काठमाडौं । भीजी मोटर्सले विद्युतीय सवारी साधन (ईभी) को दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यका साथ प्रशिक्षकहरूको प्रशिक्षण (ट्रेनिङ अफ ट्रेनर्स–टीओटी) आयोजना गरेको छ । पहिलो चरणमा कम्पनीले साउन १० गते शनिबार काभ्रेको बनेपामा रहेको संयुक्त ड्राइभिङ ट्रायल सेन्टरमा ड्राइभिङ सेन्टरका प्रशिक्षकहरूलाई तालिम दिएको हो ।
कार्यक्रममा सातै प्रदेशबाट आमन्त्रित ४५ जना अनुभवी चालक प्रशिक्षकहरू सहभागी रहेको कम्पनीले जनाएको छ । तालिम भीजी मोटर्सको सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गरिएको हो । यसको मुख्य उद्देश्य विद्यालय तथा सार्वजनिक सवारी चालकहरूलाई दीर्घकालीनरूपमा सुरक्षित, सचेत र जिम्मेवार तरिकाले विद्युतीय गाडी चलाउने बनाउनु रहेको छ ।
तालिमका सहभागीलाई ईभीको प्रविधि र यसलाई चलाउने शैलीबारे सैद्धान्तिक र व्यावहारिक ज्ञान दिइएको भीजी मोटर्सले जनाएको छ । उनीहरूलाई ईभीको सुरक्षित सञ्चालन, शैक्षिक संस्था र सार्वजनिक सवारी साधनको सुरक्षामा आवश्यक सावधानी तथा व्यावहारिक सीपसम्बन्धी प्रशिक्षण दिइएको थियो । तालिममा ईभीको तत्काल उत्पन्न हुने गति र आकस्मिक तीव्र गति नियन्त्रण, उकालो–ओरालोमा रिजेनेरेटिभ ब्रेकिङको प्रयोग, साइलेन्ट अपरेसनका कारण देखिने जोखिम र सजगताका उपाय, स्टेरिङ र ब्रेकिङको संवेदनशीलता सम्हाल्ने व्यावहारिक अभ्यासलगायत ज्ञान दिइएको छ । यस्तै, ड्यासबोर्डका संकेतहरू– एसओसी, पावर मोटर, टर्टल मोड आदि बुझ्ने तरिका पनि सिकाइएको छ ।
तालिमका मुख्य प्रशिक्षक एवं भीजी मोटर्सका अनुसन्धान तथा विकास विभाग प्रमुख सम्राट गौतमले ईभी बेच्ने मात्र नभएर यसको सुरक्षित प्रयोग सुनिश्चित गर्ने अभियानको पनि कम्पनीले नेतृत्व गर्ने बताए । यी प्रशिक्षकमार्फत अब विद्यालय र सार्वजनिक गाडीका चालकहरूलाई देशैभर प्रशिक्षित गर्न सकिने उनको भनाइ छ । गौतमले फिनल्यान्डबाट मेकाट्रोनिक्स इन्जिनियरिङ विषयमा विशेषज्ञता हासिल गरेका छन् ।
उक्त कार्यक्रममा भीजी मोटर्सका प्रमुख कार्यकारी अधिकृत विवेक बिजुक्छेले यो पहिलो चरणको तालिम रहेको र भविष्यमा दोस्रो चरणको तालिम पनि आयोजना गरिने बताए । कम्पनीले ईभी सुरक्षालाई आधारभूत शिक्षा प्रणालीमा समावेश गर्न र प्रशिक्षकहरूको क्षमता अभिवृद्धिमा योगदान पुर्याउने योजना अगाडि सारेको छ । आगामी हप्ताहरूमा स्थानीय चालक प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गर्न प्रशिक्षकहरूसँग समन्वय गरी प्राविधिक सामग्रीहरू तथा आवश्यक सहयोग प्रदान गर्ने प्रतिबद्धता जनाएको छ । पहिलो चरणमा तालिम लिएका ड्राइभिङ इन्स्टिच्युटका प्रशिक्षकहरूले दोस्रो चरणमा सार्वजनिक सवारीसाधन चलाउने चालकहरूलाई प्रशिक्षण दिनेछन् ।