अमेरिका । अमेरिकी केन्द्रीय बैंक फेडेरल रिजर्भले पुनः व्याजदर कटौती रोक्ने भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको तीव्र दबाबका बीच फेडेरल रिजर्भले व्याजदर कटौती नगर्ने भएको समाचार संस्था एएफपीले जनाएको छ ।
केन्द्रीय बैंकका नीतिनिर्माताहरुले यो वर्षको सुरुदेखि नै दरलाई यथावत् राखिरहेका छन् । उनीहरुले संसारकै ठूलो अर्थतन्त्रमा राष्ट्रपतिले अन्तर्राष्ट्रिय समुदायहरुमाथि लगाएको अतिरिक्त शुल्कको प्रभावबारे अध्ययन गरिरहेको बताइएको छ । बदलिएको कर नीतिले महंगीमाथि परेको असरहरुबारे फेड अधिकारीहरुले विचार गरिरहेका छन् । खासगरी उनीहरुले मूल्य अवस्थाको अध्ययन गरिरहेका छन् ।
यसैबीच मंगलबार र बुधबार केन्द्रीय बैंकले महंगी र रोजगारीको अवस्थाबीचको सन्तुलन खोज्ने समाचारमा जनाइएको छ । केन्द्रीय बैंकले तथ्यांकमा आधारित भएर व्याजदरसम्बन्धी निर्णय गर्ने मनसाय देखाएपछि रिपब्लिकन पार्टीबाट राष्ट्रपति बनेका डोनाल्ड ट्रम्पलाई भने क्रुद्ध बनाएको छ । उनले व्याजदर नघटाएको भन्दै केन्द्रीय बैंक प्रमुख जेरोमी पवेलको तीव्र आलोचना गर्दै आएका छन् । केही समयअघि मात्र उनले फेड निर्माणस्थलको स्थलगत अवलोकन गर्दै पवेलसँग असन्तुष्टिपूर्ण व्यवहार देखाएका थिए । यद्यपि अर्थशास्त्रीहरुले भने फेडले ट्रम्पको दबाबको बेवास्ता गर्ने आशा गरेका छन् ।