कर्णाली विकास बैंकमा भएको बहु अर्बको वित्तीय घोटालाबारे केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धान पूरा गरेको छ। नेपालगन्जमा केन्द्रीय कार्यालय रहेको उक्त बैंकमा अनियमितता भएको उजुरीपछि काठमाडौंबाट खटिएको सिआइबीको टोलीले केही सातासम्म स्थलगत अनुसन्धान गरी हालै बाँकेको सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको हो। प्रतिवेदन करिब एक हजार पृष्ठभन्दा लामो छ। सिआइबीको निष्कर्ष अनुसार कर्णाली विकास बैंकबाट तीन अर्ब २० करोड ११ लाख ५४ हजार १५७ रूपैयाँ बराबरको बिगो भएको छ। स्रोतका अनुसार बैंकका पदाधिकारीहरू र कर्मचारीहरूले अन्य बैंकबाट ठूलो मात्रामा रकम ल्याएर दाखिला नै नगरी निजी लाभका लागि अपचलन गरेका थिए। यसरी अपचलन गरिएको रकम मात्रै एक अर्बभन्दा बढी रहेको प्रारम्भिक छानबिनले देखाएको छ। प्रकरणमा हालसम्म चार जना पक्राउ परिसकेका छन्। तीमध्ये बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय, तत्कालीन अध्यक्ष तथा नेकपा एमालेका नेता पशुपति दयाल मिश्र, तत्कालीन वित्त प्रमुख वेदप्रकाश सिंह ठकुरी र नेपाल राष्ट्र बैंकका पूर्व अनुगमन अधिकृत भुवन बस्नेत छन्। उनीहरूविरुद्ध ठोस प्रमाणसहित प्रतिवेदन पेश गरिएको जनाइएको छ। सिआइबीको अनुसन्धानका क्रममा राष्ट्र बैंकका पूर्व अनुगमन अधिकृत बस्नेतको खातामा कर्णाली विकास बैंककै कर्मचारीमार्फत १० लाख रूपैयाँ जम्मा गरिएको फेला परेको छ। घोटाला दबाउन अनुगमनकै नाममा उक्त रकम उपलब्ध गराइएको देखिएको हो। राष्ट्र बैंकका अधिकारीले अनुगमन गर्ने क्रममा गम्भीर लापरबाही गरेको पुष्टि भएपछि अन्य बैंक नियामकहरू समेत सतर्क भएका छन्। अनुसन्धानले कुल १०८ जनालाई प्रतिवादी बनाउने सिफारिस गरेको छ। तीमध्ये सञ्चालक समितिका तीन जना पूर्व अध्यक्ष, समितिका पदाधिकारी, प्रमुख शेयरधनी, कार्यकारी अधिकृत, बैंकका कर्मचारी, ऋणी, मूल्यांकनकर्ता, लेखापरीक्षक र राष्ट्र बैंकका पूर्व कर्मचारीसमेत परेका छन्। त्यसमध्ये ११ जनाविरुद्ध भने अभियोग नचलाउने सिफारिस गरिएको छ, जसमा तीन जनाको मृत्यु भइसकेको छ। कर्णाली विकास बैंकमा एक लाखभन्दा बढी निक्षेपकर्ता छन्। बैंक सस्याग्रस्त घोषणापछि नेपाल राष्ट्र बैंकको प्रत्यक्ष व्यवस्थापनमा सञ्चालित छ। सिआइबीको अनुसन्धानले बैंकभित्रको गम्भीर संरचनागत कमजोरी, नियमनको अभाव र राजनीतिक पहुँच प्रयोग गरेर बैंकिङ प्रणालीको दुरुपयोग भएको देखाएको छ। अब बाँकेको सरकारी वकिल कार्यालयले उक्त प्रतिवेदनका आधारमा औपचारिक अभियोजन प्रक्रिया अघि बढाउँदैछ।