काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनः दुई अर्ब ९२ करोड ५३ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुमा राख्ने भएको छ । आइतबार मात्र उपदान तथा पेन्सन कोषमा रहेको एक अर्ब रुपैयाँ निक्षेप राख्न प्रस्ताव गरेको केन्द्रीय बैंकले सोमबार फेरि विभिन्न कोषहरुमा जम्मा भएको रकम राख्न सूचना निकालेको हो ।
उक्त रकम वाणिज्य बैंकसँगै राष्ट्रियस्तरका विकास बैंक र वित्त कम्पनीहरुले राख्न पाउनेछन् । राष्ट्र बैंकले वाणिज्य बैंकमा दुई अर्ब ३४ करोड चार लाख, विकास बैंकमा ४३ करोड ८७ लाख र वित्त कम्पनीमा १४ करोड ६२ लाख राख्न रकम छुट्याएको छ । यसअनुसार इच्छुक बैंक तथा वित्तीय संस्थाले कुलमध्ये आफूले चाहेको रकम खुलाई यही साउन १४ गते सम्म प्रस्ताव पेस गर्न सक्नेछन् । यो रकम राष्ट्र बैंकले एक वर्षका लागि राख्न लागेको हो ।
उक्त रकम राख्न बैंक तथा वित्तीय संस्थाहरु सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा गरेको, तोकिएको न्यूनतम कुल पुँजीकोष (बफरसहित) कायम रहेको, निष्क्रिय कर्जा (एनपीए) कुल कर्जा सापटको आठ प्रतिशतभन्दा कम भएको, खुद निष्क्रिय कर्जा तीन प्रतिशत ननाघेको, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी रहेको हुनुपर्ने प्रावधानहरु तोकिएका छन् ।
त्यसैगरी, कर्जा तथा स्वदेशी निक्षेप र प्राथमिक पुँजी अनुपात यस बैंकले निर्धारण गरेको सीमाभित्र रहेको, सर्वसाधारणका लागि छुट्याइएको सेयर जारी गरिसकेको, निकटतम अघिल्लो आवमा सञ्चालन मुनाफा–व्यवस्थापछिकोमा रहेको, लगानी गरिने बैंकको कुनै पनि सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालकलाई राष्ट्र बैंकले जरिबाना गरेको अवस्थामा त्यस्ता सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालक बैंकमा नरहेको, शीघ्र सुधारात्मक कारबाहीमा परेको भए फुकुवा भएको कम्तीमा छ महिना पूरा भएको, लगानी गरिने बैंक नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ बमोजिमको कारबाहीमा परी समस्याग्रस्त घोषणा नभएको तथा समस्याग्रस्त घोषणा भएकोमा सो फुकुवा भएको छ महिना अवधि पूरा भएको एवम् रियलस्टेट कर्जा बैंकबाट तोकिएको सीमाभन्दा बढी नभएको हुनुपर्ने प्रावधानहरु तोकिएका छन् ।