दोलखा । जिल्लामा वर्षात्को समयमा पशु चौपायामा महामारी रोगको प्रकोप फैलिएको छ । जिल्लाको भीमेश्वर नगरपालिका–१, देउराली क्षेत्रमा कृषकहरुले पालेका भेँडाबाख्रामा महामारी रोग पीपीआर संक्रमणले भटाभट मर्न थालेका छन् ।
एक साताको अवधिमै छवटा खसीबाख्रा मरेपछि सो भेगका पशुपालक कृषक चिन्तित बनेका छन् । पशु चौपाया भटाभट मर्न लागेको खबर पाएसँगै पशु विकास सेवा कार्यालय दोलखाले स्थलगत अनुगमन गरेर रोग नियन्त्रणमा चासो दिएको छ । कार्यालयले पीपीआर रोगको आशंंका गरेर रेपिड टेस्ट गर्दा रिपोर्ट पोजिटिभ आएको जनाएको छ । पोस्टमार्टम गर्दा पीपीआरसँग मिल्दोजुल्दो भएको हुँदा केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा नमुना पठाएको र परीक्षण रिपोर्ट पनि पोजिटिभ देखिएको पशुसेवा कार्यालय दोलखाका पशु स्वास्थ्य प्राविधिक प्रकाश थापाले बताए । थापाका अनुसार हालसम्म रोग संक्रमणको कारण छ वटा खसीबाख्रा मरेको तथा दुई घरका नौवटा बाख्रा अहिले बिरामी परेका छन् ।
यहाँका स्थानीय कृषकलाई कार्यालयले उच्च सतर्कता अपनाउन अनुरोध समेत गरेको छ । भेँडाबाख्रामा सर्ने यो महामारी रोग पुष्टि भएपछि रोगको रोकथाम तथा नियन्त्रणका लागि कार्यालयले जिल्लाका अन्य क्षेत्रमा उच्च सतर्कता अपनाउन अपिल समेत गरेको छ । कार्यालयले सूचना जारी गरी रोग देखिएको क्षेत्रबाट भेँडाबाख्रा ओसारपसार नगर्न र अति आवश्यक परेमा मात्र पशु चिकित्सकको सिफारिसमा ओसारप्रसारको अनुमति दिइने व्यवस्था गरिएको जनाएको छ । रोगको संक्रमण फैलिन नदिनका लागि प्रभावित क्षेत्रलाई कम्तीमा ९ देखि २१ दिनसम्म ‘क्वारेन्टिन’मा राखिनेछ ।