काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले १७औँ वार्षिकोत्सवको अवसरमा डिजिटल सेवा प्रवद्र्धन र ग्राहकमैत्री सेवा प्रदान गर्ने प्रतिबद्धतालाई निरन्तरता दिँदै अन्तरबैंक टेलर क्यूआर सेवा सञ्चालनमा ल्याएको छ । यो सेवाको माध्यमबाट अब ज्योति विकास बैंकमा खाता नभएका नागरिकहरूले पनि आफ्नो सम्बन्धित बैंकको मोबाइल बैंकिङ एपको प्रयोगबाट ज्योति विकास बैंकको जुनसुकै शाखामा गई नगद निकाल्न सक्नेछन् । ज्योति विकास बैंकको शाखाहरूमा रहेको तोकिएको क्यूआरलाई स्क्यान गरी नगद निकाल्न पाइने यस सुविधाले आम नागरिकहरूलाई थप सहजता हुने विश्वास बैंकले बोकेको छ ।
यो सेवा उपयोग गर्न, सेवाग्राहीको नेपालभित्रको जुनसुकै बैंक तथा वित्तीय संस्थामा खाता तथा सो खातासँग सम्बन्धित मोबाइल बैंकिङ सुविधा सक्रिय रहेको हुनुपर्छ । ज्योति विकास बैंकमै खाता हुनुपर्छ भन्ने छैन । यस भुक्तानी सेवा प्रयोग गर्नलाई ग्राहकले आफ्नो वैध परिचयपत्र अनिवार्यरूपमा प्रस्तुत गर्नुपर्छ । एटीएम अथवा आफ्नो सम्बन्धित बैंकको शाखा पायक नपरेको अवस्थामा ज्योति विकास बैंकमा खाता नभए पनि यो सुविधा उपलब्ध हुनेछ ।
ज्योति विकास बैंकले डिजिटल प्रविधिको प्रयोगमार्फत ग्राहकको सुविधा, पहुँच र सन्तुष्टिमा केन्द्रित रही आधुनिक बैंकिङको दिशामा सार्थक कदम अघि बढाउने उद्देश्यपूर्तिस्वरूप यो सेवा पनि थप गरेको हो । भविष्यमा अझ प्रभावकारी र नवीनतम समाधानमार्फत ग्राहक सेवालाई थप सशक्त बनाउँदै लैजाने बैंकको दिगो प्रतिबद्धता रहेको छ ।
बैंकले हालै मात्र सूचना सुरक्षा व्यवस्थापन प्रणालीद्वारा अन्तर्राष्ट्रिय मान्यताप्राप्त ‘आईएसओ २७००१ः२०२२’ प्रमाणपत्र प्राप्त गरेको छ । अन्तर्राष्ट्रिय सर्टिफिकेसन संस्था इन्टरसेफ्टले प्रदान गरेको यो प्रमाणपत्र सूचना सुरक्षा व्यवस्थापन प्रणालीको लागि एक प्रसिद्ध अन्तर्राष्ट्रिय सर्टिफिकेसन हो । इन्टरसेफ्टले यस विकास बैंकको सूचना सुरक्षा उपायहरूलाई प्राविधिकरूपमा बलियो, समसामयिक र जोखिम व्यवस्थित रहेको ठहर गर्दै प्रमाणपत्र प्रदान गरेको हो ।
बैंकले ग्राहकहरूलाई सुविधाजनक र सुरक्षित वित्तीय पहुँच प्रदान गर्ने अनलाइन र मोबाइल बैंकिङ प्लेटफर्महरूलाई सुव्यवस्थित गर्दै विभिन्न आधुनिक डिजिटल बैंकिङ सेवा र सुविधाहरू उपलब्ध गराउँदै आएको छ । बैंकले विकास बैंकहरूमा पहिलो पटक भ्वाइस अडियो क्यूआर सेवा सुचारु गरी क्यूआर मर्चेन्टहरूको सहजता सुनिश्चित गरेको छ । यसैगरी, डिजिटल बैंकिङ र नगदरहित कारोबार प्रवर्द्धन गर्दै क्रस–बोर्डर भुक्तानी सेवा पनि सञ्चालन गरेको छ ।
ज्योति स्मार्ट एपमार्फत एटीएमबाट पैसा झिक्न सकिने क्यासलेस कार्ड विथ ड्रल सेवा चेकविना नै काउन्टरमा भएको क्यूआर कोड स्क्यान गरी रकम झिक्न सकिने ‘स्क्यान एन्ड विथ ड्रल’ सेवा, अनलाइनबाटै खाता खोल्न र सुचारु गर्न भिडियो केवाईसी सुविधालगायत थुप्रै आधुनिक बैंकिङ सेवाहरू बैंकले उपलब्ध गराउँदै आएको छ ।
आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरूले सामाजिक उत्तरदायित्वअन्तर्गत समाजिक कार्यमा गर्ने योगदानभन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति थप उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ ।